श्रीमतीको हत्या गरी फरार अभियुक्त पक्राउ

पुस २८, २०८० |लक्ष्मी गौतम
श्रीमतीको हत्या गरी फरार अभियुक्त पक्राउ
प्रतीकात्मक तस्बिर ।

पाँचथर । श्रीमतीको हत्यासँगै २ जनालाई खुकुरी प्रहार गरी घाइते बनाएर फरार रहेका तुम्बेवा - ४ निवासी असफल कुरुम्वाङलाई प्रहरीले पक्राउ गरेको छ ।

उनलाई तुम्बेवा-५ पखेरे टोलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक सुमित कुश्वाहाले जानकारी दिए । कुरुम्वाङले पुस २६ गते साँझ ८ बजे घरायसी विवादमा मिक्लाजुङ गाउँपालिका-३ आरुबोटेस्थित माइती घरमा रहेकी ३५ वर्षीया श्रीमती गोमा फियाकको खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

तुम्बेवा-४ स्थित घरबाट ससुराली घर पुगेका ३५ वर्षीय कुरुम्वाङले खुकुरी प्रहार गर्दा छिमेकी महेन्द्र श्रेष्ठ र गोमाकी आमा कान्छिमाया फियाक घाइते छन् ।

घाइते दुवै जनाको बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

गोमा मिक्लाजुङ-३ स्थित माइती घरमै बस्दै आएकी थिइन् । कुरुम्वाङ दम्पतीबीच पारिवारिक बेमेल रहेको स्थानीय बताँउछन् । उनीहरुको विवाद मिलाउन बसेका बखत खुकुरी प्रहार भएको थियो ।

खुकुरी प्रहार गरी फरार रहेको कुरुम्वाङलाई शनिबार बिहान ७ बजे जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक दिवस कुँवर नेतृत्वको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।


Image

लक्ष्मी गौतम

गौतम कान्तिपुर टेलिभिजनका पाँचथरका संवाददाता हुन् ।