अक्सिजन अभावले सुत्केरीको मृत्यु

पुस २४, २०८० |प्रेम रौले
अक्सिजन अभावले सुत्केरीको मृत्यु

बाजुरा । बाजुरको बूढीनन्दा नगरपालिकाको कोल्टीमा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा एक १२ दिनकी सुत्केरीको मृत्यु भएको छ ।

हुम्लाको ताजाकोट गाउँपालिकाकी ५, डोप्ककी २२ वर्षीया अन्सु बुढाको उपचारका क्रममा सोमबार राति १० बजेर १० मिनेटमा मृत्यु भएको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ । सुत्केरी बुढामा श्वास फेर्न समस्या, टाउको दुख्ने, ज्वरो आउने र खकारबाट रगत आउने लक्षण देखिएको प्राथमिक स्वास्थ्य केन्द्रका डा. रञ्जित शाहले बताएका छन् । शाहका अनुसार पुस १२ गते मदना स्वास्थ्य चौकीमा बुढा सुत्केरी भएकी थिइन् ।

सुत्केरी भएकी बुढाको स्वास्थ्यमा जटिल समस्या आएपछि परिवारले थप उपचारका लागि मदना स्वास्थ्य संस्थामा लगेका थिए ।

सुत्केरी भएको ११ दिनपछि उनको स्वास्थ्यमा श्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि थप उपचारका लागि स्वास्थ्य संस्था लगिएको ससुरा जितबहादुर बुढाले जनाए । उनले भने, ‘सुत्केरी भएदेखिको बुहारी र नातिनीको अवस्था ठीक भए पनि एक्कासि बुहारीले ज्वरो आएको र टाउको दुख्यो भनेपछि थप उपचारका लागि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्याइएको हो ।’

सोमबार दिउँसो स्वास्थ्य केन्द्र कोल्टी पुर्याइए पनि उपचारका क्रममा बुढाको राति मृत्यु भएको शाहले जनाए । ‘सुत्केरी अवस्थामा अक्सिजनको मात्रा कमी दुवैपट्टिको छातीमा पानी जमेको हुँदा तत्काल आईसीयू र भेन्टिलेरमा राखेर उपचार नहुँदा मृत्यु भएको हो,’ उनले भने ।

जहाज कुर्दाकुर्दै बिरामीको मृत्यु

शाहले सुत्केरी अवस्थामा सामान्य तया अक्सिजनको मात्रा ९५ भन्दा माथि हुनुपर्ने भए पनि कोल्टी पुग्दा बुढाको ४० मात्रै रहेको बताए । सुत्केरी भएको ६ सातासम्म स्याहार गर्नुपर्ने भए पनि उनको स्याहारसुसारमा पनि कमी देखिएको बताए । त्यस्तै समयमा हवाई उद्धार नभएको र उपचारका लागि सुविधा सम्पन्न ठाउँमा लिन नसक्दा सुत्केरी बुढाको अकालमा ज्यान गएको स्वास्थ्यकर्मी बताउँछन् । अवस्था जटिल भए पनि सुत्केरी बुढाको समयमा उद्धार हुन सकेको थिएन । आमाको मृत्यु भए पनि नवजात शिशुको स्वास्थ्य सामान्य छ ।

अक्सिजनको माध्यमबाटै कोल्टीमा उपचार भए पनि अवस्था जटिल हुँदा समस्या भएको अहेब सम्झना भण्डारीले जनाइन् । अवस्था जटिल हुँदा उपचारका लागि आएकी बुढालाई तत्काल रिफर गरिए पनि परिवारले समयमा उद्धार गर्न नसक्दा यस्तो समस्या निम्तिएको उनको भनाइ छ । स्वास्थ्य संस्थामा प्रसूति गराए पनि चिसो मौसममा खानपान र स्वास्थ्यमा ध्यान नदिँदा मृत्यु भएको स्वास्थ्यकर्मी बताउँछन् ।


Image

प्रेम रौले

रौले कान्तिपुर टेलिभिजनका बाजुरा संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement