व्यक्तिगत एक करोड खर्चिएर कृष्णबहादुरले बनाइदिए विद्यालयको भवन

पुस २४, २०८० |अर्जुन बस्नेत
व्यक्तिगत एक करोड खर्चिएर कृष्णबहादुरले बनाइदिए विद्यालयको भवन

भोजपुर । हिजोआज समाजका लागि के गरौँ भन्ने भावना भएका मानिस कमै भेटिन्छन् । सहयोगी हातहरु खोज्न कठिन भइरहेका बेला भोजपुरमा भने एकजना भूपु गोर्खा सैनिकले पौवादुङमा गाउँपालिका २, तिवारीभञ्ज्याङमा एक करोडभन्दा बढी रुपैयाँ खर्च गरेर एउटा आधारभूत विद्यालयको भवन बनाइदिएका छन् ।

आफ्नो ऊर्जाशील समय बेलायती सेनामा बिताएका भोजपुर तिवारीभञ्ज्याङका कृष्णबहादुर राईलाई सेवा निवृत्तिपछि आफ्नो गाउँघरका लागि केही गरौँ भन्ने लागिरहन्थ्यो । पराई देशको लाहुरे बनेर गरेको कमाइ उनले आफू जन्मेकै गाउँको आधारभूत विद्यालयको भौतिक पूर्वाधारमा लगाउने मन बनाए । 

७१ वर्षीय राईले एक करोड ३९ लाख रुपैयाँ खर्च गरी शितलादेवी आधारभूत विद्यालयको शैक्षिक गुणस्तर सुधार होस् भनेर अन्तर्राष्ट्रिय मापदण्डअनुरुपको सुविधासम्पन्न भवन बनाइदिएका हुन् । राईको योगदानले शिक्षण सिकाइ क्रियाकलापको गुणस्तर अभिवृद्धि हुनेमा विद्यालय आशावादी छ । राईले सरकारी विद्यालयलाई गुणस्तरीय बनाउन भन्ने आफ्नो सोच भएकाले भवन निर्माणमा सहयोग गरेको बताए ।

शितलादेवी आधारभूत विद्यालयका प्रधानाध्यापक चन्द्रबहानुर बोगटीले पनि नयाँ भवन निर्माणले शिक्षाको गुणस्तरमा धेरै सहयोग पुग्ने बताए ।

२०७९ मंसिर १५ गतेबाट सुरु विद्यालय भवन निर्माणको काम गत मंसिर मसान्तमा सकियो । त्यो बीचमा राई आफैँ धरान, विराटनगरसम्म पुगेर आवश्यक सामान ढुवानी गर्नेदेखि भवन निर्माणको काममा खटे । राईले गरेको काम स्थानीयहरुमाझ उदाहरणीय बनेको छ ।

बालबालिकालाई गाउँकै सरकारी विद्यालयमा गुणस्तरीय शिक्षा मिल्न सकोस् भन्ने उद्देश्यले जीवनभरको कमाइ सामाजिक कार्यमा लगाउने राईजस्ता पात्र समुदायका निम्ति प्रेरणा हुन् । 


Image

अर्जुन बस्नेत

बस्नेत कान्तिपुर टेलिभिजन भोजपुर संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement