दाङ । वनभोजका लागि बर्दियाबाट दाङको चखौरा आउँदै गरेको बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् । दुर्घटनामा चार जना सिकिस्त घाइते भएका छन् ।
दाङको अमिलिया-तुलसीपुर सडकखण्ड अन्तर्गत तुलसीपुर-१३ दमारगाउँ वनको उकालोमा भे १ ख २०४१ नम्बरको बस आज बिहान साढे ठ बजे दुर्घटना भएको हो ।
सिकिस्त घाइते चार जनालाई उपचारका लागि बाँकेको कोहलपुर पठाइएको छ भने २५ जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको दाङका प्रहरी प्रमुख रामबहादुर केसीले बताए । उनकाअनुसार बसमा ४० जना रहेका थिए ।
बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर ६ मैनापोखरको पिपरहवा कृषक समूहबाट दाङको दंगिशरण गाउँपालिका वडा नम्बर ३ मा रहेको चखौरा थारु संग्रहालयमा वनभोजका लागि आउँदै गरेको बस दुर्घटनामा परेको हो ।
बसको ब्रेकफेल भएर दुर्घटनामा परेको प्रहरीको पूर्वानुमान छ । बस सडकबाट खोल्सातर्फ नगएर नालातिर गएकाले ठूलो मानवीय क्षति हुनबाट जोगिएको प्रहरीले बताएको छ ।