उद्योगहरुमा ८ घण्टासम्म विद्युत कटौती, घरमा पनि झ्याप्प-झ्याप्प

पुस १४, २०८१ |सुदिल पोखरेल
उद्योगहरुमा ८ घण्टासम्म विद्युत कटौती, घरमा पनि झ्याप्प-झ्याप्प

काठमाडौं । विद्युत उत्पादन घट्ने समयमै आयोजनामा देखिएको समस्या तथा उर्जामन्त्री र प्राधिकरणका कार्यकारी प्रमुखबीच बढ्दो टसलको असर उद्योगधन्दा र घरायसी उपभोक्तामा समेत पर्न थालेको छ । बढ्दो माग र घट्दो आपूर्तिबीच प्राधिकरणले सन्तुलन मिलाउन नसक्दा अहिले उद्योगमा दैनिक ८ घण्टासम्म लोडसेडिङ हुने गरेको छ । वितरण प्रणालीमा समयमै सुधार हुन नसक्दा घरायसी उपभोक्ताले पनि झ्याप झ्याप बिजुली जाने र कम भोल्टेज जस्ता समस्या भोग्नु परेको हो । 

विद्युत प्राधिकरणका अनुसार अहिले स्वदेशका आयोजनाबाट उत्पादन भएको बिजुलीले माग धान्न सकिरहेको छैन । २ हजार ३४ मेगावाट माग हुादा स्वदेशका १ सय ८० आयोजनाबाट १४ सय मेगावाट बराबरको मात्रै बिजुली उत्पादन भइरहेको छ । भारतले बिजुलीको उच्च माग हुने सााझ ५ देखि ९ बजेसम्म आयातको सुविधा दिएको छैन ।

भारतका विभिन्न राज्यस्तरसँग भएको सम्झौताका आधारमा उक्त समयमा ३ सय मेगावाट मात्रै आयात भइरहेको छ । जसका कारण साँझ बिजुलीको उच्च माग हुने साँझको समयमा साढे तीनसय मेगावाट अपुग छ, जसका लागि प्राधिकरणले ३० वटा जति उद्योगको लाइन दिनहुँ काट्ने गरेको छ । ‘यसै त आर्थित शिथिलताका कारण मारमा परेका हामी विद्युत कटौतिले अझै अफ्ठ्यारोमा परेका छौं,’ उद्योगी पवन गोल्यानले भन्नुभयो ।

असोजमा आएको बाढी पहिरोका कारण आयोजनामा क्षतिपुगेपछि माथिल्लो तामाकोसीबाट १ सय २० मेगावाट मात्रै उत्पादन भइरहेको छ । जसबाट माघ पहिलो साताबाट मात्रै ४ सय ५६ मेगावाट उत्पादन गर्न मिल्नेछ । कालीगण्डकीबाट एक सातापछि ५० मेगावाट थपिनेछ । तर, अहिले ६ सय ९३ मेगावाट उत्पादन गरिरहेका निजी क्षेत्रबाट सञ्चालित आयोजनाबाट माघमा ६ सय मेगावाट मात्रै उत्पादन हुने प्राधिकरणको आकलन रहेको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले जानकारी दिनुभयो । जबकी यी आयोजनाबाट मंसिरमा १२ सय १७ मेगावाट उत्पादन हुन्थ्यो ।

उत्पादन कम तर माग बढी हुँदा वितरण प्रणालीको समस्याले घरायसी उपभोक्ताले पनि गुणस्तरीय बिजुली पाएका छैनन् । चिसो बढेसँगै काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा झ्याप्प-झ्याप्प लाइन जाने र कतै कम क्षमतामा मात्रै विद्युत आउने गरेको ग्राहकहरुको गुनासो छ । प्राधिकरणले लाइन मर्मत र क्षमता बढाउन काम गर्दा केही समस्या देखिएको दाबी गरे पनि ग्राहकले भने पटक-पटक लाइन जाँदा समस्यामा परेको गुनासो गर्छन् । दाङ घोराहीका दिलबहादुर मल्ले दाङमा पनि विद्युतले निकै दुःख दिएको गुनासो गर्नुभयो ।

मागभन्दा उत्पादन कम भएको कारण देखाउँदै नेपाल विद्युत प्राधिकरणले यो हिउँदभर उद्योगहरुमा बिजुली कटौती कायमै रहने जनाएको छ । माघ पहिलो सातासम्म माथिल्लो तामाकोसी र कालीगण्डकी जलविद्युत आयोजना पूर्णक्षमतामा सञ्चालनमा आए पनि लोडसेडिङको स्थिति अन्त्य हुने देखिन्न । त्यसो त डेडिकेटेड र ट्रङ्क लाइन बक्यौता प्रकरणले सरकार र विद्युत प्राधिकरणको नेतृत्वबीच टसल बढ्दा उद्योगमा भएको विद्युत कटौतीमा प्राधिकरणको चासो कम देखिन्छ ।


Image

सुदिल पोखरेल

पोखरेल कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement