प्रहरीको गोली लागेर एकको मृत्यु, एकजना सख्त घाइते

घाइतेको नारायणी अस्पताल वीरगन्जमा उपचार हुँदै
मंसिर २७, २०८० |रमेश ठाकुर
प्रहरीको गोली लागेर एकको मृत्यु, एकजना सख्त घाइते

बारा । बाराको सिम्रौनगढ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत हाजिर गराउने विषयलाई लिएर भएको झडपमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ ।

सामान्य प्रशासन मन्त्रालयले सरुवा गरी पठाएको प्रशासकीय अधिकृत महेशकुमार मिश्रलाई नगरप्रमुख किशोरीप्रसाद कलवारले हाजिर गराउन खोजेपछि आन्दोलित कर्मचारी र जनप्रतिनिधिहरुले रोक्न खोजेपछि झडप भएको थियो ।

झडपका क्रममा प्रमुख प्रशासकीय अधिकृत मिश्र चढेको बा.२झ ४३५४ नम्बरको सरकारी गाडी तोडफोड गर्न थालेपछि प्रहरी र आन्दोलित कर्मचारी र जनप्रतिनिधिबीच झडप सुरु भएको हो ।

झडपका क्रममा भिड नियन्त्रण गर्न प्रहरीले चलाएको गोली लागेर सिम्रौनगढ नगरपालिका १ का लक्ष्मी मुखिया बिनको मृत्यु भएको बाराका प्रहरी प्रमुख सुरेशप्रसाद काफ्लेले जनाएका छन् । प्रहरीको गोली लागेर अर्का एकजना घाइते भएका छन् । उनको अवस्था चिन्ताजनक छ । प्रहरीका अनुसार घाइतेलाई उपचारका लागि वीरगन्जस्थित नारायणी अस्पताल लगिएको छ ।


Image

रमेश ठाकुर

ठाकुर कान्तिपुर टेलिभिजनका बारा संवाददाता हुन् ।