‘जब रिदम मृत्युको मुखबाट फर्किए...’

मंसिर २३, २०८० |जे पाण्डे|सविता जीसी
‘जब रिदम मृत्युको मुखबाट फर्किए...’

नेपालगन्ज । ‘आज त  भात खाए, ड्याडीले दिनु भयो । भरे पनि भात खान्छु । भोलि घर जाने हो’ ठूला अस्पतालका चिकित्सकहरूले माया मारेपछि अस्ताउँदा अस्ताउँदै नयाँ जीवन पाएका ११वर्षीय रिदम मल्ल कान्तिपुर टेलिभिजनसँग कुरा गर्दा आफ्ना बाबुको काख थिए ।

‘उपचार नै नगरी धेरै चिकित्सकहरूले हात उठाए । कसैले उपचार नै गर्न मानेनन् । म निराश थिएँ ।  अक्सिजन  खोज्दै थिएँ । फर्काएर घर लैजाने तरखरमा  थियौँ,’ रिदमका बाबु वीरविक्रम मल्लले भने,  ‘बाँच्ने र बचाउने सकिने छोरालाई ठूला अस्पतालका चिकित्सकले ‘२ घण्टा पनि बाच्न मुस्किल छ भन्थे । त्यसपछि  त बचाउन सकिने आशा नै मरेको थियो ।’

दुवै मिर्गौलाले काम गर्न छाडेपछि सिकिस्त बिरामी भएका कैलाली जोसीपुर-६ कुमारीबागका रिदमलाई  उपचारको खाँचो थियो । तर  सिकिस्त हुँदै गएका रिदमको उपचारमा कुनै चिकित्सक तम्सिएनन् । सबै पन्छिँदै जाँदा बालक मृत्युको मुख तिर धकेलिँदै गए । रिदमका अभिभावक चिकित्सकसँग उपचारका लागि हारगुहार  गर्दै थिए  ।

११ वर्षीय रिदमको उपचार गर्दा निको भएन भने आइपर्न सक्ने जोखिमबाट जोगिन कैलालीको सेती अस्पताल, बाँकेको भेरी अस्पताल, राजधानी काठमाडौंस्थित कान्तिबाल अस्पताल र बाँकेकै कोहलपुर स्थित नेपालगन्ज मेडिकल कलेजका चिकित्सक एकपछि अर्को अस्पताललाई रेफर गर्दै आएका थिए ।

पिसाबसमेत मलद्वारबाट हुन थालेपछि रिदम अचेत हुँदै थिए । भेरी अस्पतालकी कुनै एक नर्सले मिर्गौला रोग विशेषज्ञ डा. पारस श्रेष्ठलाई भेट्न सुझाव दिइन् । सिकिस्त छोरो लिएर आमा बाबु र आफन्त अन्तिम पटक हारगुहार गर्न लाइफलाइन जनरल अस्पताल पुगे ।

घर लग्यो भने बच्चाको मृत्यु हुन्थ्यो । उपचार गर्दा बाच्ने १ प्रतिशत सम्भावना थियो ।

डा. पारस भन्छन्, ‘यहाँ ल्याउँदा बच्चाको पीवी नै थिएन । श्वास फेर्न नि सकिरहेको थिएन । रगतमा सङ्क्रमण थियो । बच्चा होसमा थिएन । हामीसँग डाइलेजर थिएन ।’ काठमाडौंमा आफ्ना चिकित्सक साथीहरूसँग सल्लाह गरेको र त्यसअनुसार डाइलिसिस गरेको उनी बताउँछन् ।

बच्चाको अवस्था गम्भीर थियो । डायलिसिस गर्दा पनि झन् नाजुक भएको अनुभव डा. पारस सुनाउँछन् । ‘मसँग आइसीयू थिएन । मेडिकल कलेजमा राख्दिन अनुरोध गरेँ तर मानेनन्,’ चुनौती र जोखिम मोलेर मृत्युको मुखबाट बालकलाई जोगाएका डा. पारसले सुनाए, ‘म जिम्मेवारी लिन्छु भनेँ । घर लग्यो भने बच्चाको मृत्यु हुन्थ्यो । उपचार गर्दा बाच्ने १ प्रतिशत सम्भावना थियो । अभिभावकको सल्लाहमा उपचार गरेँ । बच्चालाई सन्चो भयो । जस्तो सुकै जोखिम आईपरेपनि चिकित्सकीय जिम्मेवारी निभाउन तयार हुँदै तीन दिनको उपचारपछि बालकले नयाँ जीवन पायो । उ शय्याबाट हाँस्दै हिँडेर आउँदा मलाई पनि धेरै खुसी लाग्यो ।’

चिकित्सकले सानो जोखिम मोल्दा बिरामीको ज्यान जोगिन सक्ने ठानेर उपचार गर्दा जुन नतिजा आयो- डा. पारस खुसी भए । रिदमकी आमा कल्पना मल्लको आँखामा खुसीका आशु भरिए ।

लाइफलाइन अस्पतालको कक्षमा कान्तिपुरकर्मीसँग आशु पुछ्‌दै कल्पनाले दुखेसो पोखिन्, ‘बाँच्दैन । दुई घण्टा मात्र समय छ भन्थे । जुन अस्पतालमा पुर्‍याए पनि फिर्ता गरिदिए । भेरी अस्पतालमा एम्बुलेन्सबाट निकाल्न नपाउँदै फिर्ता पठाए । माया नै मारेका थियौँ । उनी अहिले आफ्नो छोराले दोस्रो जुनी पाएको ठान्छिन् । ‘डाक्टरले प्रयास गरे ठीक हुँदो रैछ,’ कल्पनाले फेरि पछ्यौरीले आशु पुछिन् । कल्पनाको आशुमा उनको छोरालेजस्तै सिकिस्त धेरै बिरामी उपचारबाँच वञ्चित हुँदा रहेछन् भन्ने प्रस्ट पारेको देखिन्थ्यो ।

तस्बिर क्याप्सन :

उपचारपछि मृत्युको मुखबाट फर्किएका कैलालीका ११ वर्षीय रिदम मल्ल आफ्ना आमाबाबुको काखमा ।

तस्बिर : जे पाण्डे, कान्तिपुर टेलिभिजन


Image

जे पाण्डे

पाण्डे कान्तिपुर टेलिभिजनका बाँके संवाददाता हुन् ।

Image

सविता जीसी

जीसी बाँकेस्थित कान्तिपुर टेलिभिजनकी क्यामेरा पर्सन हुन् ।