काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर १७ देखि चीन भ्रमण गर्दै हुनुहुन्छ । प्रधानमन्त्रीको भ्रमणको तयारी सरकारी तहबाट भइरहे पनि एजेण्डाले अन्तिम रुप भने पाइसकेको छैन । सत्तारुढ दल नेपाली कांग्रेस र एमालेकै बीचमा समेत कतिपय मुद्दामा समान धारणा बनिसकेको छैन । पूर्वप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री लगायतसँग छलफल गर्नुभएका प्रधानमन्त्री ओली नेपाली कांग्रेस नचिढिने गरि भ्रमणको तयारी गर्न खोजिरहनु भएको छ । जसले गर्दा यसपटकको चीन भ्रमण नयाँ सम्झौताभन्दा पनि सदभावना भ्रमणका रुपमा रहने देखिएको छ ।
सरकारले प्रधानमन्त्रीको आसन्न चीन भ्रमणका लागि तयारी गरिरहेका बेला सरकारकै मन्त्रीहरुले भने मंसिर १७ देखि हुने भ्रमण सद्भावना भ्रमणका रुपमा मात्रै रहने संकेत गरिरहेका छन् । सरकारकै प्रवक्ता पृथ्वी सुब्बा गुरुङको भनाइ छ- यसपटक चीनसँग कुनै नयाँ सम्झौता हुँदैन ।
त्यसो त भ्रमण सुरु हुन एक साता बाँकी रहँदा नेपालको तर्फबाट मूल एजेन्डा के हुने भन्नेमा सहमति बनिसकेको छैन । तर प्रधानमन्त्री केपी ओलीले भने भ्रमणलाई विशेष महत्व दिँदै आउनु भएको छ । भ्रमण अत्यन्त सफल हुने दाबी नै छ । भलै उहाँले त्यो सफलता कुन अर्थमा हुनेछ भन्ने कुरा भने स्पष्ट पार्नुभएको छैन ।
प्रधानमन्त्री र मन्त्रीहरुकै यी फरक-फरक भनाइले पनि चीन भ्रमणका एजेण्डामा सत्तारुढ दलभित्र सहमति नजुटेको प्रष्टै देखिन्छ । चिनियाँ पक्षले बीआरआई अन्तर्गतका टोखा-खहरे सुरुङमार्ग, रसुवागढी-काठमाडौं सडक स्तरोन्नति, कोरोला नाकामा सुख्खा बन्दरगाह र जलविद्युत आयोजना लगायतका विषयलाई एजेण्डामा समावेश गर्न खोजेको देखिन्छ । खासगरी सत्तारुढ मुख्य दलबीच बीआरआई अन्तर्गतका परियोजना ऋण वा अनुदान केमा लिने भन्नेमा विवाद थियो । अहिले प्रधानमन्त्री ओली पनि अनुदानकै पक्षमा देखिनुभएको छ । तर नेपाली कांग्रेस पुराना आयोजनाहरु अगाडि नबढेसम्म नयाँमा जान नहुने भन्ने अडानमै देखिन्छ । प्रधानमन्त्रीसँग सोमबार भएको छलफलपछि पूर्वपरराष्ट्रमन्त्री एन पी साउदले केही नयाँ योजना अगाडि बढाउने आशय प्रधानमन्त्रीको रहेको आफूले पाएको प्रतिक्रिया दिनुभयो ।
एजेन्डाको तयारीका लागि परराष्ट्रमन्त्री आरजु राणा चीन जादै हुनुहुन्छ । आन्तरिक रुपमा देखिन सक्ने राजनीतिक विवादले भ्रमणलाई असर नपरोस् भन्नेमा प्रधानमन्त्री चनाखो देखिनुभएको छ । त्यसैले उहाँले पुरानै आयोजनालाई कार्यान्वयनमा जोड दिने र नयाँ सम्झौता नहुने धारणा राख्नुभएको छ ।
पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीको छलफलमा प्रधानमन्त्री ओलीले चीन भ्रमणका क्रममा विगतका सहमति र सम्झौताको प्रभावकारी कार्यान्वयनका साथै प्रसारण लाइन विस्तार, नेपालको उत्पादन चीनमा निर्यात र अन्य सहयोगका विषयमा छलफल हुने गरी तयारी भएको जानकारी दिनु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । तर, राजनीतिक समिकरणका कारण ठूला सम्झौताको सम्भावना भने टर्दै गएको छ । जसले गर्दा प्रधानमन्त्रीको पहिलो औपचारिक विदेश यात्रा सद्भावना भ्रमणमै सीमित हुने सम्भावना देखिन्छ ।