४० चेकमा गरेको हस्ताक्षर रविका लागि कति होला घातक ?

मंसिर १०, २०८१ |रमेश धमला
४० चेकमा गरेको हस्ताक्षर रविका लागि कति होला घातक ?

काठमाडौं । सूर्यदर्शन सहकारीको रकम अपलचनमा पक्राउ परेर कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले तीन वटा सहकारीमा आफ्नै हस्ताक्षरका ४० वटा चेकबाट ब्याज तिरेको खुलेको छ । प्रहरीले कास्कीको सूर्यदर्शन, काठमाडौंको स्वर्णलक्ष्मी र रूपन्देहीको सुप्रिम सहकारीमा रवि आफैंले ऋणको ब्याज तिरेको चेक बरामद गरेको हो ।

कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका रवि लामिछानेमाथि संसदीय छानबिन विशेष समितिको प्रतिवेदनका आधारमा अदालतको अनुमति लिएर अहिले चार वटा सहकारीको रकम हिनामिनामा थुनामै राखेर एकसाथ अनुसन्धान चलिरहेको छ । आइतबार म्याद थपका लागि अदालत पुर्‍याइँदा लामिछानेले आफू विरुद्ध कुनै प्रमाण नरहेको दाबी गरे पनि प्रहरीले रकम हिनामिनाका थप तथ्यहरू फेला पारेको छ । उनले तीन वटा सहकारीबाट आफैंले गोर्खा मिडिया ग्रुपका नाममा आएको ऋण तिरेको खुलेको हो ।

लामिछानेले तीन वटा सहकारीमा ब्याज बापतको रकम तिर्न ४० वटा चेक काटेको तथ्य प्रहरीले फेला पारेको छ । सम्पत्ति शुद्धीकरणको कसुरमा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेले सूर्यदर्शन सहकारीको ब्याज भुक्तानी गर्न मात्र १५ वटा चेकमा हस्ताक्षर गरेका छन् । सूर्यदर्शन सहकारीबाट लिइएको ऋणको ब्याज तिर्ने क्रममा काटिएका १६ चेकमध्ये एउटामा जीबी राई र १५ वटामा रविकै हस्ताक्षर भेटिएको हो ।

रविले २०७८ साल वैशाख ५ गतेदेखि २०७९ असार ३१ गतेसम्म २२ लाख ३७ हजारको चेकमा हस्ताक्षर गरेका हुन् । त्यस्तै काठमाडौंको स्वर्णलक्ष्मी सहकारीमा पनि रविले नै ब्याज तिरेका छन् । प्रहरीले बरामद गरेको चेक अनुसार स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीमा गोर्खा मिडिया ग्रुपले लिएको ऋणको रविले १५ वटा चेक मार्फत ९३ लाख बुझाएका छन् ।

२०७८ वैशाख १० गतेदेखि २०७९ असार ३१ गतेसम्ममा रविले हस्ताक्षर गरेको चेकबाटै स्वर्णलक्ष्मी सहकारीको रकम भुक्तानी भएको खुलेको हो । त्यसैका आधारमा जिल्ला प्रहरी प्रहरी परिसर कठमाडौंले पक्राउ पुर्जी जारी गरेर काठमाडौं ल्याउने तयारी गरेको छ । स्वर्णलक्ष्मीबाट रविले व्यक्तिगत ऋण पनि लिएको हुन सक्ने प्रहरीको आशंका छ ।

यता वुटवलस्थित सुप्रिम सहकारीमा पनि रविले नै पैसा बुझाएका छन् । प्रहरीले रविको हस्ताक्षरमा सुप्रिम सहकारीका लागि १० वटा चेक मार्फत रकम भुक्तान गरेको देखिएको हो । २०७८ असार ३ गतेदेखि २०७९ जेठ १७ सम्ममा १० वटा चेक मार्फत ४० लाख भुक्तान गरेको प्रहरी स्रोतले जनाएको छ । उनले तीन वटा सहकारीमा गरी एक करोड ६२ लाख रुपैयाँ भुक्तानी गरेको देखिएको छ ।

अनुसन्धानमा संलग्न प्रहरीका अनुसार रविले २० लाखसम्मको चेक बुझाएका छन् । पाँच वटा सहकारीबाट ६७ करोड ७६ लाख रुपैयाँ गोर्खा मिडिया ग्रुपमा आएको तथ्य संसदीय छानविन विशेष समितिले सार्वजनिक गरिसकेको छ ।

सहकारीबाट रकम ल्याएको बारे जानकारी नभएको दाबी गर्दै आएका रवि आफैंले जारी गरेको चेक नै पर्याप्त प्रमाण हुने प्रहरीको दाबी छ ।

त्यसो त यसअघि नै सुप्रिम सहकारी र सूर्यदर्शनबाट रविकै नाममा ऋण जारी भएको भेटिएको थियो । अनुसन्धान गरिरहेको प्रहरीले नयाँ तथ्य प्रस्तुत गरेकै कारण अदालतले लामिछानेलाई हिरासतमा राख्न अनुमति दिइरहेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतको दाबी छ ।


Image

रमेश धमला

धमला कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।