प्रधानमन्त्रीलाई प्रभु साहको प्रश्न : चीन भ्रमण देशको लागि हो कि तीर्थयात्रा मात्रै ?

मंसिर १०, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रधानमन्त्रीलाई प्रभु साहको प्रश्न : चीन भ्रमण देशको लागि हो कि तीर्थयात्रा मात्रै ?

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको देशको लागि हो कि तीर्थयात्रा मात्रै हो ? भन्दै प्रश्न गर्नु भएको छ । सोमबारबाट शुरू भएको पार्टीको स्थायी कमिटी बैठकलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष साहले प्रधानमन्त्री ओलीको चीन भ्रमणबारे सिंगो देश र जनतालाई जानकारी गराउनुपर्नेमा त्यसो नगरिएको भन्दै प्रश्न उठाउनु भयो ।

साहले अहिले विश्वसामु नै नेपालको छवि खस्किँदै गएको टिप्पणी गर्नु भयो । उहाँले भन्नु भयो, “आज विश्वसामु नेपालको इमेज खस्किँदै गइरहेको छ । यो सरकारको व्यक्तिवादी र निहित स्वार्थ अनि सोचको कारण यस्तो अवस्था भएको हो । छिमेकीहरूसँगको हाम्रो सम्बन्ध पनि धरासायी हुँदै छ । हामी सुन्दैछौं प्रधानमन्त्री चीन जाँदै हुनुहुन्छ । यो भ्रमणको लागि भ्रमण हो कि तीर्थयात्रा हो ? देशको लागि भ्रमण हो कि व्यक्तिगत भ्रमण हो ? चीन भ्रमणबारे जनतालाई थाहा दिनुपर्ने हो, तर आज हामी अन्योलमा छौं । प्रधानमन्त्रीको भ्रमण एउटा व्यक्तिगत भ्रमण हुने, निहित स्वार्थमा हुने कि देश र जनताको लागि भ्रमण हुने ? यो गम्भीर प्रश्न खडा छ । अहिले नेपालको विभिन्न देशसँगको कूटनीतिक सम्बन्ध कमजोर हुँदै छ । ध्वस्त हुँदै छ ।”

साहले देशमा यति वेला लोकतन्त्र विरोधी गतिविधि बढेकोमा पनि चिन्ता व्यक्त गर्नु भयो । सरकार प्रमुखको गतिविधिकै कारण यस्तो अन्योलपूर्ण अवस्था सिर्जना भएको साहको टिप्पणी छ । उहाँले भन्नु भयो, “अहिले त सरकारले जे पनि गर्ने तर जनताले विरोध पनि गर्न नपाउने अवस्था बनाइएको छ । सडकमा नागरिकले शान्तिपूर्ण आन्दोलन गर्दा अपराधी हुने, तर प्रधानमन्त्रीले सडकमै मञ्च बनाएर सभा गर्दा महान हुने ?”

साहले सरकारको नेतृत्वमा बसेका दलहरू नेपाली कांग्रेस र नेकपा एमाले कानुनभन्दा माथि रहेको आरोप पनि लगाउनु भयो । उहाँले भन्नु भयो, “अहिले कानुनले एमाले र कांग्रेसलाई छुँदैन । अस्ति एमालेले त्यत्रो सडकमा फोहोर गर्‍यो, उसले त्यो सफा गर्ने दायित्व पनि ठानेन । काठमाडौं महानगरपालिकाले कानुन अनुसार जरिवाना तोक्दा पनि स्वीकार्य भएन । किनकि एमाले र कांग्रेस अहिले कानुनभन्दा माथि छन् भन्ने सन्देश प्रवाह भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको, कांग्रेस र एमालेको त आलोचना नै गर्नु हुँदैन, यदि आलोचना गर्यो भने मुद्दा लागिहाल्छ । साइबर क्राइम थेग्नुपर्छ । प्रधानमन्त्री ओलीको आलोचना गर्दा र प्रश्न उठाउँदा त्यसको छानबिन हुनुपर्ने हो, तर आज कानुनी शासनको उपहास हुँदै छ ।”

साहले गत चुनावमा कांग्रेससँग प्रतिस्पर्धा गरेर अहिले कुन नैतिकताले कांग्रेससँगै मिलेर सरकार बनाएको भन्दै प्रधानमन्त्रीलाई प्रश्न पनि गर्नु भयो । “तपाईं नैतिकवान भएको भए कांग्रेससँग सरकार बन्दैन थियो । कुनै पनि लोकतान्त्रिक देशमा जनादेश विपरीत जाने अधिकार हुँदैन, तर तपाईंले जे पनि गर्न थालिरहनुभएको छ, त्यो अलोकतान्त्रिक छ,” उहाँले भन्नु भयो ।

यस्तै मनपरी कर असुलेको, देशको अर्थतन्त्र बर्बाद पारेको, सरकारको तहपिच्छे कर आतंक रहेको तर सरकारले आफ्नो दायित्व केही पनि नबुझेको उहाँको भनाइ छ । निजी उद्योग नाफामा गइरहँदा सरकार मातहतका उद्योग भने बन्द भइरहेको भन्दै अब जनतालाई ऋण बोकाउने काम सह्य नहुने पनि उहाँले बताउनु भयो ।

“अहिले जनतालाई सरकारले आफैं कुट्ने र रुन नदिने अवस्था सिर्जना गरेको छ । यो चिन्ताको विषय हो । आज राष्ट्र नै खतरामा छ । राष्ट्रिय पूँजी विदेश पलायन गरिएको छ । अहिले तमाम बेथिति र बर्बादीको अवस्था सिर्जना गरिएको छ, देशमा लोकतन्त्रको रक्षाको लागि तेस्रो जनआन्दोलनको अवस्था छ । यो बैठकले त्यस दिशामा ऐतिहासिक निर्णय लिने अपेक्षा लिएको छु,” उहाँले भन्नु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.