काठमाडौं । झन्डै १४ किलोग्राम सुनसहित गोरखाका चन्द्र घले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।
हिजो राति फ्लाई दुबईको जहाजबाट काठमाडौं उत्रेका घलेलाई विमानस्थलबाट भन्सारका अधिकारीहरूले पक्राउ गरेका हुन् । घलेले सुनको प्लेट बनाएर शरीरमा राखेर ल्याएका थिए ।
उनी बुधबार नै फ्लाई दुबईको फ्लाइटबाट नेपाल आउन लागेको पूर्वसूचना पाएपछि भन्सारका अधिकारीहरूले एयरपोर्टमा निगरानी बढाएका थिए । तर घले बुधबार नआएपछि बिहीबारको फ्लाइटमा पनि कर्मचारीहरूले निगरानी गरेका थिए । विमान अवतरणसँगै अन्य यात्रु गइसकेपछि अन्तिमतिर झरेका घलेलाई लगत्तै भन्सारको टोलीले पक्राउ गरेको थियो ।
बरामद भएको सुन शुक्रबार जोखिने र त्यसको गुणस्तर परीक्षण गरिने भन्सार विभागले जनाएको छ । घले को हुन् र सुन कसको हो भन्नेबारे थप अनुसन्धानसहित कल डिटेल र सम्पर्कमा रहेका व्यक्तिहरूमाथि निगरानी भइरहेको पनि विभागले जनाएको छ ।