धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका-६ का वडाध्यक्ष देवेन्द्र गुरागाईंको डाँडाखर्कस्थित घरमा मध्यरातमा अज्ञात व्यक्तिले आगजनी गरेको छ ।
गुरागाईं दम्पती सुतिरहेकै समयमा शनिबार राति घरको तल्लो तलामा बाहिरबाट ढोकामा साँचो लगाएर आगो लगाइदिएको गुरागाईंले बताए ।
घरको माथिल्लो तलामा सुतेका उनीहरु सकुशल छन् । आगलागीबाट उनको घरको तल्लो तलाका तीनकोठा पूर्ण रूपमा नष्ट भएका छन् ।
तल्लो तलाको ओछ्यानमा भएका कपडा र भान्साको दुईवटा ग्यास सिलिन्डर एकै ठाउँमा राखेर आगो लगाएको उनको भनाइ छ ।
आगो लागेको थाहा पाएपछि राति साढे १२ बजे छिमेकीलाई हारगुहार गरेका थिए । छिमेकीले भर्याङ राखेर उनीहरुलाई जलिरहेको घरबाट निकालेको गुरागाईंले बताए । आफूहरूको हत्या गर्ने नियतले घरमा आगो झोसिएको उनको भनाइ छ ।
घट्नाबारे धनकुटा प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ ।