सुर्खेत । स्वच्छ पिउने पानी स्वस्थ जीवनको आधार हो भन्ने कुरा स्वीकार गर्दै सबै सरकारले एक घर, एक धाराको नारा ल्याउँछन् । नागरिकलाई स्वच्छ खानेपानी पुर्याउने उद्देश्यले बर्सेनी तीनै तहका सरकारले खानेपानी आयोजनामा करोडौँ लगानी गर्छन् । तर विडम्बना कर्णाली प्रदेशका जम्मा साढे तीन प्रतिशत जनसंख्यामा मात्रै शुद्ध पिउने पानीको पहुँच छ ।
कर्णालीको धेरै बस्तीका मानिसले मूलको पानी पिउँछन् । तर मूलको पानीमा पनि दिसामा पाइने कोलिर्फम तथा इकोली पाइएकाले यसलाई शुद्ध मान्न सक्ने अवस्था छैन । पानीलाई निर्मलीकरण गरेर पिउन योग्य बनाउन सकिन्छ । तर चेतना अभावका कारण कर्णालीका अधिकांश नागरिकले कुनै न कुनै रुपमा दूषित पानी पिउँदै आएका छन् । भौगोलिक विकटता र छरिएको बस्तीका कारण शुद्धीकरण गरिएको पानी घरघरमा पुर्याउन ठूलै चुनौती रहेको हुम्ला जिल्लाको चंखेली गाउँपालिका अध्यक्ष प्यारीलाल शाही बताउँछन् ।
सुर्खेत प्रदेशको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको तथ्यांकअनुसार प्रदेशभर ९६.५ प्रतिशत नागरिक खुला पोखरी, खोला, खोल्सा र नदीको दूषित पानी पिउन बाध्य छन् ।
शतप्रतिशत शुद्ध नभए पनि कर्णालीका ८५ प्रतिशत नागरिकले आधारभूत र ५.३ प्रतिशतले सीमित रुपमा खानेपानी पाएका छन् । प्रदेशभर ५.१ प्रतिशत नागरिकले असुरक्षित मानिएको पानी पिउँछन् भने ०.७ प्रतिशतले नदी, खोला, तालतलैला र नालाको पानी पिउँछन् ।
प्रदेशका कुल तीन लाख ६६ हजार ३७ परिवारमध्ये ३५ दशमलव ६ प्रतिशतको घरमा मात्रै पानीको धारा पुगेको छ । पानीको धारा पुगेका परिवारले केही रुपमा शुद्ध पानी पिउन पाएका छन् ।