किन घट्दै छ बागलुङ बजारको सुन्दरता ?

मंसिर ९, २०८० |महेश केसी
किन घट्दै छ बागलुङ बजारको सुन्दरता ?

बागलुङ । गण्डकी प्रदेशको महत्त्वपूर्ण बजार बागलुङ बजारका मुख्य सडकमा रहेका घरहरूको बाहिरी भागमा प्लास्टर तथा रंगरोगन नगरिँदा बजारको सुन्दरता मात्रै खस्किएको छैन सुरक्षामा समेत असर परेको छ । यसको सुधारका लागि नगरपालिकाले प्रयास थालेको बताइरहँदा देखिने गरी परिणाम भने आउन सकेको छैन ।

बागलुङको सदरमुकाम बागलुङ बजार । साबिक धौलागिरि अञ्चलको सदरमुकामसमेत रहेको यो बजार कालीगण्डकी नदीको छेउमा अवस्थित छ । पहाडको फेदीमा रहेको यो बजार आसपासको प्रकृति जति सुन्दर छ त्यसलाई अझ सुन्दर बनाउन नगरबासीले भने मिहिनेत गरेको देखिँदैन ।

यहाँका प्रायः धेरै घरहरूको एक भागबाहेक अरू भागमा प्लास्टर र रंगरोगन नगरिएकाले बजार कुरूप देखिन्छ । नयाँ बनेका घरमा यसलाई केही हदसम्म ध्यान दिन थालिएको भए पनि पुराना घरहरूमा चार भागमध्ये दुई-तीन भागमा न त प्लास्टर गरिएको छ न त रंगरोगन नै ।

घरको एउटा भित्तो मात्रै प्लास्टर र रंगरोगन गरेर बाँकी यत्तिकै छोड्नाले बजारको सुन्दरतामा प्रत्यक्ष असर परेको त नै सँगसँगै यसले सुरक्षा चुनौतीसमेत बढाएको छ । प्लास्टर नगरिएको भागमा झारपात उम्रिने र पानी पसेर घर कमजोर हुने जोखिम पनि उत्तिकै छ ।

अहिले बागलुङ बजारको विकास र विस्तार तीव्र भएकाले यहाँ नयाँ घरहरू बन्ने क्रम पनि तीव्र छ । बनिसकेका र नयाँ बन्ने घरको चारैतिर अनिवार्य प्लास्टर र रंगरोगन गर्नुपर्ने नीति अघि सारेको नगरपालिकाले जनाएको छ ।

सहर बजार किनमेलको केन्द्र मात्रै होइन । यो त मानिसको सभ्यता र संस्कृतिको परिचायक पनि हो । यहाँ बन्ने घर तथा भवनहरूको डिजाइन र आर्किटेक्टले सुन्दरता त थप्छ नै सहरलाई पर्यटकीय गन्तव्य बनाउनमा समेत ठूलो भूमिका खेल्छ । त्यसैले बागलुङ बजारको सुन्दरता र सुरक्षाका लागि नगरपालिकाले लिएको नीतिमा साथ दिनु नगरबासीको पनि दायित्व हो ।


Image

महेश केसी

केसी रुकुम पश्चिम र रुकुम पूर्वका लागि कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।