जाजरकोट भूकम्पका प्रभावितलाई भोलिदेखि २५ हजार वितरण

मंसिर ५, २०८० |कान्तिपुर टीभी संवाददाता
जाजरकोट भूकम्पका प्रभावितलाई भोलिदेखि २५ हजार वितरण

काठमाडौं । सरकारले जाजरकोटका भूकम्प प्रभावित परिवारलाई अस्थायी आवास निर्माणका लागि भोलिदेखि पहिलो किस्ता विपत् २५ हजार रुपियाँ वितरणको तयारी गरेको छ ।

पहिलो किस्ता बापतको रकम पाउन भूकम्प प्रभावितले सुरुमा स्वघोषणासहितको निवेदन स्थानीय तहमा पेस गर्नुपर्ने छ । स्थानीय प्रतिनिधिले पहिचान गरी सिफारिस गरे लगत्तै प्रभावित परिवारले रकम पाउने छन् । 

दोस्रो किस्ता बापतको थप २५ हजार भने अस्थायी आवास निर्माण थालेपछि मात्र वितरण गरिने छ । सो रकम पाउन पनि स्थानीय तहको सिफारिस अनिवार्य पर्नेछ । पीडित परिवारले विना झन्झट रकम पाउने विपद् प्राधिकरणले जनाएको छ ।

सरकार वा अन्य निकायबाट अस्थायी आवासका लागि अनुदान पाइसकेका परिवारले भने यो रकम पाउने छैनन् । प्रदेश तथा स्थानीय तहले सहयोग दिँदा पनि दोहोरो नपर्ने गरी दिने व्यवस्था मिलाइएको छ । यस्तो रकम स्थानीय सरकारले बैंक मार्फत वा स्थानीय प्रतिनिधिहरूको रोहवरमा नगदै पनि वितरण गर्न सक्ने जनाइएको छ । 

अनुदान रकम लिएर अस्थायी आवास निर्माण सम्पन्न गरेपछि मात्रै सरकारबाट पाउने थप सुविधा लिन सकिने जनाइएको छ । एक द्वार प्रणालीअन्तर्गत सामाजिक संघ संस्था वा अन्य निकायले पनि सरकारको स्वीकृति लिएर मात्रै सहयोग गर्न सक्ने व्यवस्था मिलाइएको छ ।  

भूकम्प प्रभावित जिल्लाका लागि सरकारले एक अर्ब ४१ करोड रुपियाँ निकासा गरी सकेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.