टिकटकलाई प्रतिबन्ध लगाउनुको कारण १५ गतेभित्र पेस गर्न सर्वोच्चको आदेश

मंसिर ५, २०८० |कान्तिपुर टीभी संवाददाता
टिकटकलाई प्रतिबन्ध लगाउनुको कारण १५ गतेभित्र पेस गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले टिकटकमाथि प्रतिबन्ध लगाउनुको कारण १५ गते भित्र पेस गर्न सरकारलाई आदेश दिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्माको इजलासमा आज सुनुवाइ गरी रिटमा विपक्षी बनाइएका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल टेलिकम र नेपाल दूरसञ्चार प्राधिकरणलगायतलाई टिकटकलाई प्रतिबन्ध लगाउनुको कारण सोधेको हो । 

सरकारले टिकटकमाथि लगाएको प्रतिबन्ध तत्काल हटाउन माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरू अनन्तराज लुइँटेल, सुनिलरञ्जन सिंह, भद्रप्रसाद नेपाल, त्रिलोकबहादुर चन्द, प्रेमराज सिलवाल, यज्ञमणि न्यौपाने तथा युवराज पौडेल लगायतले सर्वोच्चमा छुट्टाछुट्टै १४ वटा रिट दायर गरेका थिए । 

गत शुक्रबार १० वटा रिट दर्ता भएकोमा हिजो थप ४ वटा दर्ता भएपछि टिकटक प्रतिबन्धविरुद्धका रिट १४ वटा पुगेका हुन् ।

सार्वजनिक शिष्टाचारविरुद्धका सामग्री  नहटाएको र प्रयोगकर्ताको विवरण उपलब्ध नगराएको भन्दै सरकारले गत कात्तिक २७ गते टिकटकलाई प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । 

इजलासले अर्को पेशी कात्तिक १९ गतेलाई तोकेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement