दोलखाको लामाबगर नाकाबाट १० महिनामा ३३ किलो सुन तस्करी

सुन तस्करी आरोपमा दोलखामा पक्राउ परेकाद्वारा एक वर्षमै अवैध क्रिप्टोकरेन्सीमार्फत ३ अर्ब डलरको कारोबार
मंसिर ५, २०८० |केदार शिवाकोटी
दोलखाको लामाबगर नाकाबाट १० महिनामा ३३ किलो सुन तस्करी

दोलखा । सुन तस्करी आरोपमा दोलखामा पक्राउ परेकाहरु ठूलो परिमाणमा अवैध क्रिप्टोकरेन्सीको कारोबारमा समेत संलग्न रहेको खुलेको छ ।

पक्राउ परेकाहरूले एक वर्षमा क्रिप्टोकरेन्सीमार्फत दुई अर्ब ९१ करोड ४८ लाख ३२ हजार अमेरिकी डलरको कारोबार गरेको खुलेको हो । जिल्ला प्रहरी कार्यालय दोलखा र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरेको अनुसन्धानका क्रममा खुलेको उक्त तथ्यबारे तयार पारिएको प्रतिवेदन आज चरिकोटमा सार्वजनिक गरिएको हो ।

क्रिप्टोकरेन्सी कारोबारका मुख्य आरोपी महिमा माझीको कारोबार डिजिटल फरेन्सिक ल्याबबाट आई नपुगेकाले कारोबार रकम बढ्नसक्ने ब्युरोका अनुसन्धान अधिकृत रामकृष्ण पाठकले जानकारी दिए ।

चीनको रोङ्जिया नाका हुँदै दोलखाको लामाबगरबाट नेपालतर्फ १० महिनामा ३३ केजी सुन तस्करी भइसकेको र त्यसमा दुई विदेशीसहित २७ जना संलग्न रहेको प्रतिवेदनमा उल्लेख छ । प्रहरीले अहिलेसम्म सुन तस्करीमा संलग्न मुख्य व्यक्ति मानिएका चिनियाँ नागरिक आगर लामासहित १५ जनालाई पक्राउ गरेको छ भने अन्य १२ जना फरार छन् ।

दोलखाबाट थप ४ केजी सुन बरामद

अन्तर्राष्ट्रिय आपराधिक संगठित सञ्जाल खडा गरेर सुन तस्करी भएको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ । २ महिना लगाएर गरिएको अनुसन्धानमा काठमाडौंका विभिन्न मनी चेन्जरहरुबाट अवैध रुपमा सात लाख ६० हजार अमेरिकी डलर सटही गरी पैदल मार्गमार्फत सुनको भुक्तानी गरेको पाइएको समेत प्रहरीले जनाएको छ ।

गिरोहले दोलखा हुँदै यार्सा र कस्तुरीको बिनासमेत तस्करी गर्ने गरेको भेटिएको छ । पक्राउ परेकालाई भन्सार ऐन, संगठित अपराध निवारण, नेपाल राष्ट्र बैंक ऐन, बालबालिकासम्बन्धी ऐन र मुलुकी आपराधिकसंहिता गरी पाँचवटा कसुरमा जिल्ला अदालत दोलखामा मुद्दा दायर गरिएको छ ।


Image

केदार शिवाकोटी

शिवाकोटी कान्तिपुर टेलिभिजनका दोलखा संवाददाता हुन् ।