बीबीसीको प्रभावशाली सय महिलाको सूचीमा नेपालकी रुक्शना कपाली

मंसिर ५, २०८०
बीबीसीको प्रभावशाली सय महिलाको सूचीमा नेपालकी रुक्शना कपाली

काठमाडौं । बीबीसीले सन् २०२३ का लागि विश्वभरीबाट एक सय जना प्रेरणादायी र प्रभावशाली महिलाको सूची सार्वजनिक गरेको छ ।

बीबीसीले सार्वजनिक गरेको सूचीमा नेपालकी रुक्शना कपाली परेकी छन् । हाउसिंग क्याम्पेनरको रुपमा उनी बीबीसीको एक सय महिलाको सूचीमा परेकी हुन् ।

नेवा समुदायकी रुक्शना पारलैंगिक (ट्रान्सजेन्डर) महिला हुन् । उनले ट्रान्सजेन्डर मानव अधिकारकर्मीका रुपमा काम गर्दै आएकी छन् । उनी हुर्किंदै जाने क्रममा आफ्नो पहिचानबारे उनलाई कसैबाट जानकारी हासिल भएको थिएन ।

उनले लिंग र यौनिकताको विविधिताको आयामबारे आफैँ सिक्दै गएको बीबीसीले जनाएको छ । किशोर उमेरदेखि उनले समलैंगिक अधिकारका विषयमा सामाजिक सञ्जालमार्फत अवाज उठाउन थालेकी थिइन् ।

उनी पछिल्लो समय कानुन विषयमा स्नातक तेस्रो वर्षकी छात्रा हुन् । साथै नेपालमा ‘एलजीबीटीक्यु प्लस’ समुदायको कानुनी तथा संवैधानिक अधिकारका लागि काम गरिरहेकी छन् ।

उनले त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा स्नातक तहमा भर्ना हुन कानुनी लडाईसमेत लडेकी थिइन् । अधिकारका लागि उनले लडेको कानुनी लडाई र संघर्षलाई सम्मान गर्दै बीबीसीले यस वर्ष उनलाई विश्वका प्रभावशाली तथा प्रेरक महिलाको एक सय सूचीमा समावेश गरेको जनाएको छ ।

बीबीसीले सार्वजनिक गरेको सन् २०२३ को एक सय महिलाको सूचीमा मानवअधिकार मामिलाकी वकिल अमाल क्लूनी, हलिउड अभिनेत्री अमेरिका फरेरा, अमेरिकाकी पूर्व प्रथम महिला मिसेल ओबामा, ब्युटी बिजनेस सुरु गर्ने हुडा कातान र बलेन डि’ओर उपाधि जित्ने फुटबलर ऐताना भनमतिसमेत परेका छन् ।

साथै यस वर्षको सूचीमा जलवायु परिवर्तनको सामना गरेका आफ्नो समुदायलाई सहयोग गर्ने र जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि काम गर्ने महिला पनि परेका छन् । बीबीसीले युनाइटेड नेसन्स क्लाइमेट चेन्ज कन्फ्रेन्स, कोप-२८ अगाडि जलवायु संरक्षणमा काम गर्ने २८ महिलालाई सूचीमा समेटेको जनाएको छ ।