बाराको पचरौतामा झडप हुँदा आठ राउन्ड हवाई फायर, दुई जना घाइते

मंसिर ५, २०८० |रमेश ठाकुर
बाराको पचरौतामा झडप हुँदा आठ राउन्ड हवाई फायर, दुई जना घाइते

फाइल तस्बिर

बारा । बाराको पचरौतामा मेला लगाउने विषयमा दुई पक्षबीच झडप भएपछि नियन्त्रण गर्न प्रहरीले आठ राउन्ड हवाई फायर गरेको छ ।

पचरौता नगरपालिका-७ बेनौलीमा झन्डा मेला लगाउने विषयमा गएराति बसेको बैठकमा दुई पक्षबीच विवाद सुरु भई ढुँगा हानाहान हुन थालेपछि प्रहरीले अवस्था सामान्य बनाउन आठ राउन्ड हवाई फायर गरेको हो ।

मेला लगाउन सयौंको संख्यामा उपस्थित भएका स्थानीयबीच ब्रह्माको मूर्ति पूजनको विषयलाई लिएर विवाद भएको भएको थियो । विवादले उग्र रुप लिँदा स्थिति तनावग्रस्त बनेको थियो । नगरपालिकाले तोकेको स्थानमा मूर्ति पूजा गर्न एउटा पक्ष नमानेपछि झडप भएको स्थानीयले बताएका छन् ।

राति करिब ११ बजे दुई पक्ष ढुंगा हानाहानमा उत्रिएका थिए । अवस्था सामान्य बनाउन हवाई फायर गरिएको बाराका प्रहरी प्रमुख सुरेशप्रसाद काफ्ले जानकारी दिएका छन् ।

झडपमा परी दुई जना घाइते भएको प्रहरीले जनाएको छ । स्थानीय लक्ष्मी पटेल र चण्डीका पटेल घाइते भएको र उनीहरुको कलैया प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


Image

रमेश ठाकुर

ठाकुर कान्तिपुर टेलिभिजनका बारा संवाददाता हुन् ।