रुकुम पश्चिम जिप दुर्घटना : घाइतेमध्ये सिकिस्त ७ जनालाई जिल्ला बाहिर रिफर

मंसिर ४, २०८० |महेश केसी
रुकुम पश्चिम जिप दुर्घटना : घाइतेमध्ये सिकिस्त ७ जनालाई जिल्ला बाहिर रिफर

रुकुम पश्चिम । रुकुम पश्चिममा जिप दुर्घटनामा परी सिकिस्त घाइते भएका सात जनालाई थप उपचारको लागि जिल्ला बाहिर रिफर गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक नमराज भट्टराईका अनुसार दुर्घटनामा घाइते भएका चौरजहारी नगरपालिका वडा नम्बर - १४ की ४ वर्षीया बालिका डिला बिष्ट र सानीभेरी गाउँपालिका वडा नम्बर - २ निवासी सपना बुढाको १७ महिनाको छोरा प्रतिक बुढालाई थप उपचारको लागि एम्बुलेन्समार्फत नेपालगञ्जतर्फ लगिएको छ ।

अन्य सिकिस्त अवस्थामा रहेका पाँच घाइतेलाई थप उपचारका लागि हेलिकप्टरमार्फत सुर्खेत लैजाने तयारी भइरहेको छ । चौरजहारी नगरपालिका १३ का मस्तबहादुर ओली, वडा नम्बर ११ का रणबहादुर ओली, वडा नम्बर १४ का प्रेम परियार, कविता परियार र वडा नम्बर १० का प्रविर पुनको अवस्था सिकिस्त रहेको प्रहरीले जानकारी दिएको छ ।

सोमबार बिहान चौरजहारी नगरपालिका - ८ को गोइरीज्यूलामा लु १ ज २२९७ नम्बरको जिप अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा जिपमा चढेका २१ जना नै घाइते भएको प्रहरीको भनाइ छ ।

अन्य घाइते सबैको चौरजहारी मिसन अस्पतालमा उपचार भइरहेको छ । क्षमताभन्दा बढी यात्रु बोकेको उक्त जिप अनियन्त्रित भई करिब तीन सय मिटर तल खसेको जनाइएको छ । उक्त जिप चौरजहारीबाट जिल्ला सदरमुकाम मुसिकोटतर्फ जाँदै थियो ।


Image

महेश केसी

केसी रुकुम पश्चिम र रुकुम पूर्वका लागि कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।