चितवन । तस्करहरूले चितवन राष्ट्रिय निकुञ्जमा दुईवटा एकसिंगे गैँडा मारेका छन् ।
उनीहरूले निकुञ्जको पूर्वी सेक्टरको चप्परखोरी भन्ने ठाउँमा दुईवटा पोथी गैँडा मारेका हुन् । दुईवटा अलग-अलग खाल्डोको धरापमा पारेर गैँडा मारी उनीहरूले खाग र खुर काटेर लगेका छन् ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेश तिवारीले एउटा अन्दाजी १८ वर्षको र अर्को अन्दाजी ५ वर्षको पोथी गैँडा तस्करले मारेको जानकारी दिए ।
निकुञ्जका सूचना अधिकारी तिवारीका अनुसार एक सय मिटरको फरकमा दुईवटा खाडल बनाएको र खाडलको माटो टाढा लगेर फालेको देखिन्छ । उनले व्यावसायिक व्यक्तिहरूले ठूलो योजना बनाएर गैँडा मारेको बताए ।