न सहिद स्तम्भ न बौद्ध स्तूप !

कार्तिक १३, २०८० |घनश्याम खड्का
न सहिद स्तम्भ न बौद्ध स्तूप !

म्याग्दी । म्याग्दी सदरमुकाम बेनीको जिल्ला अदालत र प्रशासन कार्यालयको गेट छेउमा एउटा स्तम्भ स्थापित छ ।

स्तम्भको तल ‘सहिद स्तम्भ’ लेखिएको छ भने माथिल्लो टुप्पोमा बौद्ध धर्ममा प्रचलित स्तूप आकार बनाइएको छ । उक्त संरचना न सहिद स्तम्भ, न बौद्ध स्तूप जस्तो देखिन्छ । न त भगवान बुद्ध, न सहिद ।

यो कुरुप संरचना भने तत्कालीन जिल्ला विकास समिति र पर्यटन बोर्ड पोखराले निर्माण गरेको हो । तत्कालीन जिल्ला विकास समिति अन्तर्गत रहेको आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानले पर्यटन बोर्डसमेतको बजेटमार्फत वीरेन्द्रको शालिक हटाएको स्थानमा लखन थापाको अर्धकदको शालिक राख्ने प्रयास गरेको थियो । तर लखन थापाको शालिक राख्ने प्रयास असफल भएपछि यस्तो अधकल्चो र अमुर्त स्तम्भ बनेको हो ।

यो स्थानमा २०४५ सालमा तत्कालीन राजा वीरेन्द्रको पूर्णकदको शालिक राखिएको थियो । राजाको शालिक राखेपछि यस ठाउँको नाम वीरेन्द्रचोक भएको हो । ०६२/०६३ सालको जनआन्दोलनका क्रममा स्व.राजा वीरेन्द्रको शालिक ढालियो । र ०६९ सालमा शालिक बाहेकको भागको माथिल्लो टुप्पोमा बौद्ध धर्ममा प्रचलित स्तूप आकार थपेर ‘सहिद स्तम्भ’ बनाइएको हो ।

संरक्षण गर्नु पर्ने एउटा सम्पदा नष्ट गरी स्थापित गरिएको संरचनाले न सहिद स्तम्भको सम्मान पाउन सकेको छ न बौद्ध स्तुपाको । सम्मान र आदरले शिर झुक्नु पर्ने स्थल सबैको हाँसो र उपहासको वस्तु बनेको छ । 


Image

घनश्याम खड्का

खड्का म्याग्दीका कान्तिपुर टीभी संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement