चन्दननाथ र भैरवनाथ मन्दिरमा नयाँ लिंगो ठड्याएसँगै घरघरमा घटस्थापना

आश्विन २८, २०८० |एलपी देवकोटा
चन्दननाथ र भैरवनाथ मन्दिरमा नयाँ लिंगो ठड्याएसँगै घरघरमा घटस्थापना

जुम्ला । कर्णालीकै प्रसिद्ध चन्दननाथ र भैरवनाथ मन्दिरमा नयाँ लिंगो ठड्याइएसँगै जुम्लीहरुले घरघरमा घटस्थापना गरेका छन् । परम्पराअनुसारै मन्दिरमा लिंगो ठड्याइसकेपछि मात्रै घटस्थापना गरिएको हो । चन्दननाथ र भैरवनाथ मन्दिरमा ५२ हाते लिंगो र ५२ हाते कपडा राखिन्छ ।

पुर्खादेखि नै चन्दननाथ र भैरवनाथ मन्दिरमा विजय स्तम्भसहित पाँच पुराना लिंगो झिकेर नयाँ ठड्याउने चलन रहेको स्थानीय जानकार चित्रलाल श्रेष्ठको भनाइ छ । तत्कालीन राजाले चीनबाट युद्ध जितेर फर्कंदा गजुर ल्याएर मन्दिरमा चढाएको र १४९८ सालबाट यो मन्दिरमा लिंगो गाड्ने परम्परा रही आएको छ । प्रत्येक दिन पूजा हुने प्रसिद्ध मन्दिरमा साताको एकपटक विशेष पूजा हुने र एक वर्षमा ५२ साता हुने भएकाले ५२ हाते ध्वाजासहित ५२ हाते लिंगो खडा गरी घटस्थापना गर्ने चलन छ ।

यस्तो छ जमराको धार्मिक र शास्त्रीय महत्त्व !

बिहान ७ बजेदेखि नै स्थानीय बासिन्दाले बाजागाजासहित पूजा गरी लिंगो फेर्ने चलनअनुसारै यसपटक पनि नयाँ लिंगो ठड्याइएको चन्दननाथ भैरवनाथ गुठी व्यवस्थापन समितिले जनाएको छ । सरकारी कार्यालयका कर्मचारी, सेना, प्रहरीले ल्याउने पल्टन लिंगो, स्थानीय ९ गाउँका ब्राह्मणले ल्याउने थपाला लिंगो र स्थानीय दलित समुदायले ल्याउने कम्सल लिंगो , एउटा चन्दननाथको पुरानो लिंगो र विजयी स्तम्भ गरी पाँचवटा लिंगो गाड्ने चलन छ ।

चन्दननाथ भैरवनाथ मन्दिरमा ५२ हाते लिंगोका लागि ५२ हाते ध्वाजा मुगुबाट आउने, लिंगोमा लगाउने गेरु, टुप्पोमा लगाउने चौरीको फुर्का र थप्का हुम्ला जिल्लाबाट ल्याइने गरिन्छ ।

यस्तै लिंगो खडा गर्न कालीकोटबाट लडा (डोरी) आउने चलन रहे पनि पछिल्लो समय विस्तारै यो परम्परा हराउँदै गएको चन्दननाथ भैरवनाथ व्यवस्थापन समितिका पूर्वअध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले जनाए । ‘लिंगो ल्याउँदादेखि मन्दिरमा खडा गर्दासम्म सेना र प्रहरीको सहयोग लिनुपर्ने अवस्था छ,’ उनले भने ।

पछिल्लो समय चन्दननाथ भैरवनाथको लिंगो खडा गर्ने बेला स्थानीयको जनसहभागिता घट्दै गएको चन्दनाथ भैरवनाथ गुठी व्यवस्थापन समितिले जनाएको छ । धार्मिक र ऐतिहासिक परम्परा जगाइ राख्न स्थानीयलाई गुठी समितिले अपिलसमेत गरेको छ ।


Image

एलपी देवकोटा

देवकोटा कान्तिपुर टेलिभिजनका जुम्ला संवाददाता हुन् ।