यस्तो छ जमराको धार्मिक र शास्त्रीय महत्त्व !

आश्विन २८, २०८० |कान्तिपुर टीभी संवाददाता
यस्तो छ जमराको धार्मिक र शास्त्रीय महत्त्व !

काठमाडौं । हिन्दूहरुको महत्त्वपूर्ण पर्व बडादसैं र जमरा नेपाली मौलिक संस्कृति एवं परम्पराका पर्याय हुन् । घटस्थापनाको दिन छरेर उमारिएको जौं, गहुँ र मकैका पहेँला आँकुरा अर्थात् जमरालाई दसैंको टीकासँगै देवीको प्रसादको रुपमा लगाइन्छ । यसरी लगाइने जमराको आफ्नै धार्मिक तथा शास्त्रीय महत्त्व छ ।

विजया दशमीको पहिलो दिन, आश्विन शुक्लप्रतिपदामा पूजाकोठामा चोखो बालुवा अथवा माटोमा धार्मिक अनुष्ठान गरी शुभसाइतमा जौं, गहुँ र मकै बाक्लोगरी छरेर उमारिएको पहेँलो आँकुरा नै जमरा हो । दसैंबाहेक अन्य पर्व र पूजाअनुष्ठानमा भने जमरा राखिँदैन । जौं रोपिएको घडामा नवदुर्गाको आहृवान गरी १० दिनसम्म पूजा आराधना गरिन्छ । दसैंको दिन देवीको प्रसादका रूपमा टीकासँगै जमरा लगाउने परम्परा नेपाली हिन्दूहरुको मात्र हो ।

जौ खाद्य पदार्थको दृष्टिले पौष्टिक हो भने स्वास्थ्यको दृष्टिले पनि औषधिको रूप मानिन्छ । पछिल्लो समय जमराको जुस लोकप्रिय पनि छ। वैदिक ग्रन्थमा जौलाई रोग निको गर्ने, यज्ञयज्ञादिमा उपयोगी, शक्ति प्रदायक वस्तुका रूपमा लिइएको छ ।

टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११ बजेर २ मिनेटमा

पौराणिक ग्रन्थमा जौलाई अन्नको राजा मानिएको छ । दसैंमा जमरा उमार्ने र लगाउने परम्पराले नेपाली संस्कृति र कृषिबीचको अन्तरसम्बन्धलाई समेत प्रस्ट्याएको छ ।

निधारमा टीका र कान वा शिरमा जमरा सिउरिएपछि मात्रै दसैं मनाएको मानिन्छ । संस्कृतिसँगै जोडिएका मौलिक परम्पराले जैविक विविधता र हाम्रो दैनिकीलाई पनि चित्रित गर्ने गरेका छन् । यस वर्षको विजयादशमीको उत्तम साइत कात्तिक ७ गते बिहान ११ बजेर २ मिनेटमा रहेको छ ।

सुरु भयो दसैं : आज घटस्थापना, घरघरमा जमरा राखिँदै


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.