२५४ नेपाली लिएर इजरायलबाट उड्यो विमान

आश्विन २५, २०८० |कान्तिपुर टीभी संवाददाता
२५४ नेपाली लिएर इजरायलबाट उड्यो विमान

काठमाडौं । युद्ध प्रभावित क्षेत्रमा फसेका नेपालीलाई स्वदेश फर्काउन इजरायल पुगेको नेपाल एयरलाइन्सको विमान काठमाडौंका लागि छुटेको छ ।

तेलअभिभ विमानस्थलबाट २५४ नेपालीलाई लिएर विमान नेपाली समयअनुसार ५:२० मा काठमाडौंका लागि उडेको इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले जानकारी दिइन् । उनले तीन घाइते र सम्पर्कमा नआएका एक जनाबाहेक सबै विद्यार्थीलाई लिएर इजरायलको तेलअभिभ विमानस्थलबाट काठमाडौंका लागि विमान उडेको जनाइन् ।

रिजलाका अनुसार सो विमान दुबई ट्रान्जिट बनाएर नेपाल आउनेछ । विमान बिहीबार राति ११ बजेभित्र काठमाडौंमा अवतरण गरिसक्नेछ ।

सरकारले स्वेदश फिर्ता हुन चाहनेलाई लिन नेपाल एयरलाइन्सको जहाज पठाएको हो । युद्ध प्रभावित क्षेत्रमा फसेका नेपालीलाई लिन परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदको टोली नेपाली विमान लिएर बिहीबार बिहान इजरायल प्रस्थान गरेको थियो ।

यसअघि युद्धग्रस्त क्षेत्रबाट उद्धार गरी विभिन्न सेल्टरमा राखिएका नेपालीलाई विमानस्थलमा ल्याइएको थियो । पहिलो लटमा स्वदेश फिर्ता हुने टोलीमा हमासको आक्रमणबाट जोगिएका वीरेन्द्र चौधरी, प्रमोद केसी र धनबहादुर चौधरी पनि छन् ।

यीमध्ये धनबहादुर चौधरी घाइते छन् । उपचारकै क्रममा रहेका उनलाई ट्राभल गर्न सक्ने चिकित्सकहरुले बताएपछि उनी पनि स्वदेश फर्किएका छन् ।

विमानबाट फर्कँदै गर्दा गत शनिबार र आइतबार जस्तो त्रासको स्थिति नभएको तर सीमा क्षेत्रमा बसोबास गर्नेहरुले सुरक्षा प्रोटोकललाई नि:सर्त पालना गर्नुपर्ने आफूले अनुभव गरेको नेपाली विद्यार्थी शंकर भट्टराईले जनाए ।

परराष्ट्र मन्त्रालयले घर फिर्तीका लागि ३५० जनाको विवरण प्राप्त भएकामा २८८ जनाले नेपाल नै फर्कने इच्छा व्यक्त गरेको जनाएको छ । विमानमा नअटेका बाँकी नेपालीलाई भने आवश्यकताअनुसार अर्को विमान पठाउने वा नियमित जहाजबाटै भए पनि ल्याउने व्यवस्था गरिने मन्त्रालयको भनाइ छ ।

गत शनिबार प्यालेस्टिनी विद्रोही समूह हमासले इजारयलमा गरेको आक्रमणमा घाइते भएका प्रवीण डाँगी, विधान सेजुवाल र हिमाञ्चल कट्टेलको भने इजरायलमै उपचार भइरहेको छ । विपिन जोशी अझै सम्पर्कविहीन छन् । १७ जनाको समूहमा रहेका विद्यार्थीमाथि भएको आक्रमणमा १० जनाको मृत्यु भएको थियो । ती शव पनि प्रक्रिया पूरा गरेर छिट्टै ल्याइने मन्त्रालयले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement