तत्काल व्यक्तिगत र पार्टीगत रुपमा इजरायल भ्रमण नगर्न सरकारको आग्रह

आश्विन २३, २०८० |कान्तिपुर टीभी संवाददाता
तत्काल व्यक्तिगत र पार्टीगत रुपमा इजरायल भ्रमण नगर्न सरकारको आग्रह

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले राजनीतिक तहमा आधिकारिक निर्णय बाहेक तत्काल व्यक्तिगत र पार्टीगत रुपमा इजरायल भ्रमण नगर्न आग्रह गरेका छन् ।

इजरायलमा भएको आक्रमण र त्यहाँ रहेका नेपालीहरुको अवस्थाका बारेमा संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा जानकारी गराउँदै उनले इजरायल भ्रमणमा नजान आग्रह गरेका हुन् । मन्त्री साउदले हमास समूहले आक्रमण गरेपछि इजरायलको अवस्था संवेदनशील रहेको जानकारी दिँदै अहिलेको अवस्थालाई राजनीतिकरण नगर्न पनि आग्रह गरे ।

‘अवस्था संवेदनशील छ । त्यसैले राजनीतिक तहमा आधिकारिक निर्णय बाहेक व्यक्तिगत, पार्टीगत रुपमा इजरायल भ्रमण नगर्न अनुरोध छ,’ उनले भने, ‘यो अवस्थालाई राजनीतिकरण नगरौँ ।’

बैठकमा सांसदहरुले इजरायलमा नेपालीको उद्धारका लागि नेपाल सरकारले गरेको प्रयासको सराहना गर्दै थप कार्य गर्न सुझाएका थिए ।

इजरायलमा गत शनिबार बिहान प्यालेस्टाइनी विद्रोही समूह हमासले गरेको आक्रमणमा १० नेपाली विद्यार्थीको मृत्यु भएको छ । सरकारले इजरायलमा कठिन अवस्थामा रहेका नेपालीलाई उद्धार गरी छिट्टै स्वदेश ल्याउन पहल गरिरहेको जनाएको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.