काठमाडौं । ‘हमासहरु इजरायल नै सकाउने गरी लागिपरेका छन् ।... एक सेकेन्ड भने पनि छिटो हामी नेपाल फर्कने भन्नेमा छौं ।’ यो इजारयलमा रहेका कास्कीका सुरज भण्डारीको भनाइ हो ।
हमास समूहको आक्रमणमा मारिएका नेपाली विद्यार्थी रहेको स्थाननजिकै रहेका भण्डारी कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट ‘लर्न एन्ड अर्न’ कार्यक्रममा एक महिनाअघि मात्रै इजरायल पुगेका हुन् ।
विद्रोही समूहको आक्रमणमा भण्डारीले १० जना चिनेका साथी गुमाइसकेका छन् । उनी ३९ जना साथीसँगै छन् तर असुरक्षित । उनी रहेको फार्ममा सुरक्षाका लागि बंकर छैन । मिसाइल आक्रमणको आवाज आइरहन्छ । जुन स्थानमा सर्यो त्यही स्थानमा आक्रमण भइरहेको उनी सुनाउँछन् ।
नेपाल सरकारबाट पनि तत्काल उद्धारको सम्भावना नदेखिएको भण्डारी बताउँछन् । परिस्थिति नै त्यस्तै भएकाले आफूहरु रहेको फार्म धनीबाट पनि असहयोग भएको उनको गुनासो छ ।
उनी भन्छन्, ‘अहिले भर्खरै हामी बस्ने फार्मको साहु आउनुभएको थियो । के गर्ने भनेर सोध्दा उहाँले भन्नुभयो- हामीसँग यहाँ बंकर छैन । माथिबाट मिसाइल खस्यो भने यो रुममा नबस्नु, थेक्दैन । मिसाइल आयो भने मरुभूमिमा भाग्नु । लाग्यो भने समय आएको रहेछ जाने नै हो ।’
कहिले यस्तो घटनाको अनुभव नलिएका उनीहरु मानसिक दबाबमा छन् । त्यहीमाथि ज्यान कति बेलासम्म रहन्छ ठेगान छैन । उनी भन्छन्, ‘बम र मिसाइल आयो भने हामीसँग एउटै उपाय हो- मरुभूमिमा भाग्ने । भाग्यले को बाँच्ने हो थाहा छैन । हामी आकाशमा चरा उडेको देखिरहेको मान्छे मिसाइल र बम उडेको देखिरहेका छौं ।’
उद्धारको विकल्प
बेलायत, अमेरिका भारत र थाइल्यान्डले आफ्ना देशका नागरिकलाई विमानमार्फत उद्धार गरिसकेकाले आफूहरुलाई उनीहरुकै सहयोगमा उद्धार गर्न सक्ने विकल्प रहेको भण्डारीको भनाइ छ ।
नेपालले इजरायलमा विमान चार्टर्ड गर्न असमर्थ रहेको अवस्थामा इजिप्टसँग समन्वयको विकल्प रहेको उनी बताउँछन् । उनी भन्छन्, ‘अहिले हामी इजिप्टको बोर्डरमै छौं । इजिप्ट र इजारयलको सम्बन्ध नराम्रो छैन । इजिप्ट र नेपालको सम्बन्ध राम्रो छ । इजरायलसँग कुरा गरेर हामीलाई बोर्डर कटाएर इजिप्टबाट उद्धार गर्न पनि एउटा विकल्प हुनसक्छ ।’