दु:खका साथ भन्नुपर्दा १० नेपाली विद्यार्थी हामीसँग रहनुभएन : राजदूत रिजाल

आश्विन २१, २०८० |कान्तिपुर टीभी संवाददाता
दु:खका साथ भन्नुपर्दा १० नेपाली विद्यार्थी हामीसँग रहनुभएन : राजदूत रिजाल

काठमाडौं । प्यालेस्टिनी विद्रोही समूह हमासको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको छ । एकजना बेपत्ता भएका छन् । कान्तिपुर टेलिभिजनसँग कुरा गर्दै इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले मृतकहरु सबै विद्यार्थी रहेको जनाइन् । बेपत्ता एकजनाको पनि खोजी कार्य तीव्र बनाइएको उनको भनाइ छ ।

राजदूत रिजालका अनुसार किबुज अलुमिनमा रहेका १७ विद्यार्थीमध्ये १० जनाको मृत्यु भएको हो । यसको जाककारी परराष्ट्र मन्त्रालयलाई गराइएको उनले कान्तिपुर टेलिभिजनलाई जानकारी दिइन् । ‘हामीले नचाहँदा नचाहँदै दु:खद खबर सुनाउनुपर्‍यो । घाइते विद्यार्थीलाई तुरुन्त उपचारको प्रबन्ध गर्न इजरायलको सबै तहमा प्रयास गरेका थियौं । जुन सफल हुन सकेन,’ रिजालले भनिन् ।

ती विद्यार्थी गत भदौ १८ र १९ गते प्रयोगात्मक सिकाइका लागि ११ महिनाको ‘अर्न एन्ड लर्न प्रोग्राम’ का लागि सेदोत नेगेभ क्षेत्रमा पुगेका थिए । उनीहरु सुदूरपश्चिम विश्वविद्यालयको कृषि संकायका आठौं सेमेस्टरका विद्यार्थी हुन् ।

प्रस्तुत छ रिजालसँग गरिएको संक्षिप्त कुराकानी...

परराष्ट्रमन्त्री एनपी साउदले आज संसद्‌मा जानकारी दिँदा इजरायलमा केही नेपाली हताहती भएको हुन सक्ने बताएका छन् । के-हो त्यहाँको वास्तविकता ?

हिजोदेखि नै समाचार आइरहेको थियो, १७ जना नेपाली विद्यार्थीचाहिँ अलि अप्ठ्‍यारोमा परेको कुरा । उहाँहरुमध्ये दुईजना शारीरिक रुपमा ठीक हुनुहुन्थ्यो तर उहाँहरु अप्ठ्यारो स्थानमा हुनुहुन्थ्यो । उहाँहरुलाई सुरक्षित स्थानमा उद्धार गरिएको अवस्था छ । तीनजना अस्पतालमा हुनुहुन्थ्यो । एकजना डिस्चार्ज हुनुभएको छ । उहाँको अवस्था समान्य छ । आज एकजना अस्पतालमा थपिनुभएको छ । उहाँको खुट्टामा गोली लागेको रहेछ । उहाँको उपचार सुरु भएको छ ।

अहिले तीनजना सुरक्षित स्थानमा, तीनजना अस्पतालमा र एकजना बेपत्ता हुनुहुन्छ । अन्य देशका पनि धेरै बेपत्ता हुनुहुन्छ । दुःखका साथ भन्नुपर्दा १० नेपाली विद्यार्थीको हताहती भएको छ ।

सुदूरपश्चिम विश्वविद्यालयबाट लर्न एन्ड अर्न कार्यक्रमका लागि गएका ४९ मध्ये १७ विद्यार्थी विद्रोहीको घेराबन्दीमा परेको भनिएको थियो, उनीहरुको अवस्था के छ ?

१७ जनामा १० जना हामीसँग रहनुभएन । तीनजना अस्पतालमा, तीनजना सुरक्षित र एकजना बेपत्ता हुनुहुन्छ ।

परराष्ट्र मन्त्रालयले तपाईंहरुलाई के निर्देश गरेको छ, कसरी समन्वय गरिरहनुभएको छ, उद्धार कसरी भइरहेको छ ?

हामीले यहीँको परराष्ट्र मन्त्रालयसँग समन्वय गरिरहेका छौं । इजरायलका जति पनि सम्बन्धित विभाग छन् ती सबैसँग हामीले सम्पर्क राखेका छौं । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement