सुरु भयो इन्द्रजात्रा (फोटो फिचर)

आश्विन ९, २०८० |पशुपति बुढाथोकी
सुरु भयो इन्द्रजात्रा (फोटो फिचर)

काठमाडौं । धार्मिक तथा सांस्कृतिक महत्त्वको इन्द्रजात्रा आजबाट सुरु भएको छ ।

देवराज इन्द्रको पूजा गरी काठमाडौंको हनुमानढोका परिसरमा य:सीं अर्थात् लिंगो ठड्याइएपछि इन्द्रजात्रा सुरु भएको हो । भाद्र शुक्ल द्वादशीका दिन आज बिहान १० बजेर ३७ मिनेट जाँदा ४ वटा डोरीले तानेर लिंगो ठड्याइएको हो ।

भक्तपुरको चित्तपोलस्थित य: सिंगुँ अर्थात जंगलबाट ल्याइएको लिङ्गो मानन्धर समुदाय लगायतले डोरी तानेर उठाउने प्रचलन छ । लिंगो ठड्याइने क्रममा पराम्परागत बाजा र गुरुजूको पल्टनले तोप पड्काउने गरिन्छ । वर्षा र सहकालका देवता इन्द्रको नाममा मनाइने इन्द्रजात्रा आठ दिनसम्म विभिन्न सांस्कृतिक कार्यक्रमका साथ मनाइने चलन छ ।

हनुमानढोकामा ठड्याइयो इन्द्रध्वज लिङ्गो, इन्द्रजात्रा सुरु

इन्द्रजात्रालाई नेवार समुदायमा येंया पुन्ही भनिन्छ । ८ दिनसम्म मनाइने इन्द्रजात्रामा लाखे, इन्द्रको बाहन ऐरावती हात्ती अर्थात पुलुकिसी सवाभकु आकाश भैरव दश अवतार लगायतका देवीदेवताको नाच देखाइन्छ भने वर्षभरि आफ्नो परिवारजनको मृत्यु भएको सम्झनामा नेवार समुदायले धूप बत्ती बालेर उपाकु पर्वसमेत मनाउँछन् । इन्द्रजात्राको लिङ्गोसहित देवीदेवताको नाच हेर्नाले सुख समृद्धि हुने जनविश्वास छ ।

भक्तपुर र ललितपुरमा भने इन्द्रजात्रा भिन्नै किसिमले मनाइन्छ । जात्राको पहिलो दिन टोलटोलमा इन्द्रमूर्ति सहित लिङ्गो ठड्याइने चलन छ । देवराज इन्द्रकी आमा वसुन्धरालाई पूजाका लागि पारिजातको फूल लिन आउँदा इन्द्रलाई फूल टिप्दै गर्दा चोर भनि समातेर बाँधेर राखेको र अर्कोतिर विजयको प्रतीकका रुपमा इन्द्रजात्रा मनाउन थालिएको धार्मिक किंवदन्ती छ ।

जात्रामा रैथाने नेवारका २९ वटा टोल, गुठी, खलको प्रत्यक्ष संग्लनता छ । आठौं दिन लिंगो ढालेसँगै इन्द्रजात्रा समापन हुन्छ ।

हेरौं थप तस्बिर :


Image

पशुपति बुढाथोकी

बुढाथोकी कान्तिपुर टेलिभिजनका क्यामेरा पर्सन हुन् ।


Enter Kantipur TV HD
Advertisement