शिवालयमा व्रतालुको भिड

आश्विन १, २०८० |कान्तिपुर टीभी संवाददाता
शिवालयमा व्रतालुको भिड

काठमाडौं । नेपालको मौलिक पर्व हरितालिका तिज आज देशभर महादेवको पूजा आराधना गरी मनाइँदै छ । भाद्र शुक्ल तृतीयाका दिन मनाइने यस पर्वमा बिहानैदेखि पशुपतिनाथसहित देशभरका शिवालयमा व्रतालु महिलाको भिड लागेको छ । तिजमा महिलाले निराहार व्रत बसी पति तथा परिवारका सदस्यको लामो आयु तथा सुखसमृद्धिको कामना गर्दै महादेवको दर्शन गर्ने र नाचगान गर्छन् ।

पशुपतिनाथको दर्शनका लागि आज बिहान ३ बजेदेखि चारवटै ढोका खोलिएका थिए । दर्शन गर्न आउने व्रतालुलाई सहज बनाउन चार स्थानबाट लाइनको व्यवस्था गरिएको थियो ।

दर्शनका लागि विगतभन्दा यसवर्ष लाइन व्यवस्थित बनाइएको पशुपति क्षेत्र विकास कोषको दाबी छ ।

काठमाडौं उपत्यकाका डोलेश्वर, गोकर्णेश्वर, वसन्तपुरको मखन महादेव मन्दिरसहित देशभरका शिवालयमा पनि व्रतालुले पूजा आराधनाका साथै नाचगान गरी तिज मनाएका छन् ।

हिन्दु महिलाले मनाउने पर्व भए पनि तिजलाई सबै समुदायका महिलाले साथीसँगी भेट गर्ने र रमाइलो गर्ने पर्वका रुपमा मनाउने क्रम बढ्दै गएको छ । तिजका दिन नेपालमा रहेका विभिन्न देशका महिलाले पनि नाचगान गरी रमाइलो गरेका छन् ।

आजका दिन व्रत बसी शिव पार्वतीको पूजा, आराधना गरेमा पारिवारिक सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास छ । तिज नेपालका साथै उत्तर भारतमा पनि मनाउने परम्परा छ । पछिल्ला वर्षहरुमा नेपाली पुगेका देशहरुमा पनि तिजको रौनक छाउने गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.