साहित्यकार दाहालका दुई कृतिमाथि चितवनमा समीक्षा

भाद्र ३०, २०८० |कान्तिपुर टीभी संवाददाता
साहित्यकार दाहालका दुई कृतिमाथि चितवनमा समीक्षा

चितवन । चितवनका साहित्यकार चिरञ्जीवी दाहालका दुई कृति ‘ग्रीष्मजा ’ र ‘मुमूर्षा' माथि आज चितवनमा समीक्षा तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

साहित्यकार मुकुन्द शर्मा चालिसेको प्रमुख आतिथ्यमा समीक्षात्मक अन्तर्क्रिया कार्यक्रम गरिएको हो । त्यसअवसरमा कालीगण्डकी साहित्य परिषद् चितवनले प्रकाशित गरेको कवि अग्निसागर उपाध्यायको खण्डकाव्य 'बा आमा' तथा परिषद्को मुखपत्र 'कैलाश' को मुक्तक विशेषाङ्कको विमोचनसमेत गरिएको थियो । 

कार्यक्रममा लामो समयदेखि साहित्य क्षेत्रमा समर्पित स्रष्टाहरू समालोचक प्रा. नारायणप्रसाद खनाल, कवि तथा गीतकार मुकुन्द पौडेल र कवि तथा आख्यानकार माधव विडारीलाई ’कालीगण्डकी साहित्य सम्मान २०८०' बाट सम्मानित गरिएको थियो । 

यसैगरी कालिका नगरपालिकाअन्तर्गत सामुदायिक विद्यालयहरूमध्येबाट छात्रातर्फ गत वर्षको एसईईमा नेपाली विषयमा उच्चतम अङ्क ल्याउने चतुर्मुखी मावि शक्तिखोरकी छात्रा रक्षा मरहठ्ठालाई समेत सम्मान गरिएको थियो।

कार्यक्रममा साहित्यकार चालिसेले दाहालको आत्मकथात्मक कृति 'मुमूर्षा' ले जीवनदर्शनलाई सुक्ष्म ढंगले प्रस्तुत गर्न सफल भएको बताए । समालोचक कपिल अज्ञातले दाहालको उपन्यास ‘ग्रीष्मजा' माथि चर्चा गर्दै यसले साहित्य बजारमा हलचल ल्याउने दाबी गरे ।

Enter Kantipur TV HD
Advertisement