अपडेट : ३६२ किलो सुन तस्करी भएको सीआईबीको निष्कर्ष, ५० जना संलग्न रहेको दाबी

भाद्र २७, २०८० |कान्तिपुर टीभी संवाददाता
अपडेट : ३६२ किलो सुन तस्करी भएको सीआईबीको निष्कर्ष, ५० जना संलग्न रहेको दाबी

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ‘ब्रेक सु’ लगायत माध्यमबाट पछिल्लो समय ३६२ किलो सुन तस्करी भएको दाबी गरेको छ । सीआईबीले गरेको अनुसन्धानले सुन तस्करीमा ५० जनाको संलग्नता देखिएको छ ।

सीआईबीले आज (बुधबार) पत्रकार सम्मेलन गरी सुन तस्करी प्रकरणमा ५० जना संलग्न रहेकामा २७ नेपाली र २३ जना विदेशी रहेको जानकारी दिएको हो । ६० किलो सुन तस्करी प्रकरणमा ९ विदेशी र २३ नेपाली गरी ३२ जना पक्राउ परेका छन् । १४ विदेशी र ४ नेपाली फरार छन् । सीआईबीले आजै सरकारी वकिललाई अनुसन्धान प्रतिवेदन बुझाएको छ । तीन अर्ब रुपैयाँभन्दा बढीको बिगो दाबीको मागसहित सुन तस्करी प्रकरणमा संलग्नहरुमाथि मुद्दा चलाउन सिफारिस गरिएको सीआईबीले जनाएको छ ।

सीआईबीले सातवटा ऐनका दफाअनुसारको कसुरमा मुद्दा चलाउन राय दिएको छ । भन्सार ऐन, संगठित अपराध निवारण ऐन, नेपाल राष्ट्र बैंक ऐन, मुलुकी अपराधसंहिता, नेपाल नागरिकता ऐन, राहदानी ऐन, अध्यागमन ऐनअनुसारको कसुरमा कारबाही गर्न सीआइबीले राय दिएको हो ।

सुन तस्करीको प्रकरण अनुसन्धानलाई जारी राख्दै मुद्दा चलाउने गरी राय दिइएको सीआईबीले जनाएको छ ।

त्यसैगरी सुन तस्करीमा सातवटा कम्पनी स्थापना गरिएको र त्यसबारेमा अनुसन्धान जारी रहेको सीआईबीले जानकारी दिएको छ । गत साउन २ मा राजस्व अनुसन्धान विभागको टोलीले सिनामंगलस्थित त्रिभुवन विमानस्थल भन्सार कार्यालय परिसरबाहिर स्कुटरको ब्रेक प्याड १६० सेटसहित ८ कार्टुन बरामद गरेको थियो । बरामद भएको उक्त ब्रेक प्याडमा अवैध सुन भएको पुष्टि भएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.