काठमाडौं । शनिबारका दिन सम्पदाबारे जानकारी गराउने क्रममा आज हामी तपाईंहरुलाई लैजाँदैछौं ललितपुरको हरिसिद्धि । मानिसका हर कामना र इच्छा सिद्ध गर्ने देवीका नामले यो ठाउँको नाम हरिसिद्धि रहेको मानिन्छ ।
लगनखेल, सातदोबाटो हुँदै गोदावरी जाने मुख्य सडकमै पर्छ हरिसिद्धि । सडकको दायाँ पट्टि पिपलको चौतारोबाट सिँढी चढेपछि पुगिन्छ हरिसिद्धि देविको मन्दिर।
सिँढी सकिने बित्तिकै एउट चोक आउँछ । चोकमा पूर्व फर्केको छ-हरिसिद्धि देवीको मन्दिर । चार तले मन्दिर छाते शैलीमा निर्माण भएको छ । मन्दिरमा २१ वटा गजुर छन् । मन्दिर मल्लकालीन राजा अमर मल्लले नेपाल सम्वत ५७९ मा बनाएको इतिहास छ ।
मन्दिरसँगै जोडिएको छ-सत्तल । जहाँ बसेर जात्रा, पर्व तथा पूजाआजाका विषयमा देवगणहरुले छलफल गर्छन् । मन्दिरको पहिलो तलामा अवस्थित छन्- हरिसिद्धि देवी, जसलाई शिव-पार्वतीको आदि शक्तिका रुपमा पुजिन्छ । देवीको कुनै प्रतिमूर्ति छैन ।
मन्दिर प्राङ्गणमै छ ऐतिहासिक पोखरी, जुन पोखरीलाई स्थानीयले द्य पुखु भन्छन् । यो मौलिक पोखरी पुन:निर्माणपछि भने स्विमिङ पुल जस्तो देखिएको छ । मन्दिर प्राङ्गण निकै ठूलो छ, जहाँ गुठीको घर, प्रस्तर शिवलिङ्ग, लक्ष्मी नारायणको मन्दिर तथा इनार छ।
द्य पुखु जात्रा प्रत्येक बर्ष गाईजात्राको भोलिपल्ट भाद्र कृष्ण द्वीतियाका दिन यही मन्दिर परिसरमा मनाउने गरिन्छ । मन्दिरको प्राङ्गणमा रहेको ऐतिहासिक पोखरीमा गोसाईंकुण्डको पानी आउने विश्वास रहेकाले यहाँ स्नान तथा पौडी खेलेर यो जात्रा मनाइन्छ।
सबैभन्दा पहिले मन्दिरका देवगणले पौडी खेल्छन्। त्यसपछि मन्दिरकै बाजा खलका सदस्यहरु पौडिन्छन् । त्यसपछि रागाँको टाउको बोकेर एक व्यक्ति पोखरीमा पस्छन्।
भगवतीका रुपमा पुजिने हरिसिद्धि देवीले पानीमुनि गएर महिसासुरको बध गरेको कथन देखाउन खोजेको बुझिन्छ । अन्त्यमा यहाँका स्थानीयले स्नान गर्नुका साथै पौडी खेल्छन्।
हरिसिद्धि मन्दिरमा यमरी पूर्णिमा र फागु पूर्णिमा गरी बर्षको दुई पटक हरिसिद्धि नाच हुने गरेको छ । जुन नाचलाई नैपालको प्राचीन नाचमध्ये एक मानिन्छ । हरिसिद्धि देवीको पूजा आराधना र नृत्य सञ्चालनका लागि २९ जना देवगण खटिन्छन् ।