बडीमालिकामा सेनाको शिविरमा आठ सय ६६ जनाभन्दा बढीलाई स्वास्थ्य सेवा

भाद्र १६, २०८० |प्रेम रौले
बडीमालिकामा सेनाको शिविरमा आठ सय ६६ जनाभन्दा बढीलाई स्वास्थ्य सेवा

बाजुरा । धार्मिक तथा पर्यटकीयस्थल बडीमालिकामा भदौ शुक्ल पूर्णिमाको अघिल्लो दिन लाग्ने मेलामा नेपाली सेनाले सञ्चालन गरेको स्वास्थ्य शिविरमा आठ सय ६६ जनाले स्वास्थ्य उपचार पाएका छन् ।

चार हजार २१२ फिटको उचाईमा रहेको बडीमालिकाको तिर्थस्थल त्रिवेणी र बडीमालिका मन्दिरमा पुरुष ५४५ र महिला ३२१ गरी आठ सय ६६ जनालाई स्वास्थ्य उपचार गरिएको दुर्गाभञ्जन गुल्मका गुल्मपति सेनानी धर्मेन्द्रबहादुर सिंहले जानकारी दिए ।

अक्सिजन अभावका कारण तथा विभिन्न प्रकारका बिरामले थला परेर सिकिस्त भएकाहरुलाई सेनाको मेडिकल टोलीले उद्धार गर्दै स्वास्थ्य शिविरमा उपचार गरिएको उनले जनाए ।

बडीमालिकाको दर्शनका लागि गएका तीर्थयात्रीलाई लेक लाग्ने र अक्सिजन अभावका कारण समस्या आउने भएकाले दुर्गाभन्जन गुल्मको संयोजकत्व तथा श्री नं. ५ फिल्ड एम्बुलेन्स गुल्मको डाक्टर अधिकृतसहितको मेडिकल टिमले आठ सय ६६ जनाको उपचार र ९५५ जनालाई उपचार परामर्श सेवासहित एक हजार आठ सय २१ जनालाई उपचार गरेको सेनानी सिंहले जनाए ।

बडीमालिका मन्दिर र त्रिवेणी धाममा आएका दर्शनार्थीलाई हुन सक्ने जोखिम र समस्या निराकरण गर्न गरी स्वास्थ्य शिविर सञ्चालन गरिएको नेपाली सेना बाजुराले जनाएको छ ।

बडीमालिकाको दर्शनका लागि गएका ६ जनालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।

अक्सिजन अभावका कारण त्रिवेणी धाममा लडेर अचेत भएका ६ जनालाई सेनाको हेलिकोप्टरमार्फत उद्धार गरी उचार गरिएको दुर्गाभञ्जन गुल्मका गुल्मपति सिंहले जानकारी दिए ।

सेनाको हेलिकोप्टरमा कालिकोट जिल्ला पलाता गाउँपालिका–१ का ३९ वर्षीय धनप्रसाद न्यौपाने, बझाङ्ग जिल्ला जयपृथ्वी नगरपालिका–९ बस्ने ६५ वर्षीय झुपुदेवी धामी, त्रिवेणी नगरपालिका–१ छताराका २३ वर्षीय भरतबहादुर बुढा, कैलाली जिल्ला गोदावरी नगरपालिका अत्तरियाका ६३ वर्षीया ईश्वरी बोहरा, ५२ वर्षीया गंगादेवी बोहरा र जुम्ला जिल्ला चन्द्रनाथ नगरपालिका–२ बस्ने ४६ वर्षीया विनुदेवी बस्नेतलाई उद्धार गरिएको हो । उद्धार गरिएका दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ भने चार जनालाई उपचारपछि घर फकाईएको छ ।

कालिकोटका ३९ वर्षीय धनप्रसाद न्यौपाने र त्रिवेणी नगरपालिका–१ छताराका २३ वर्षीय भरतबहादुर बुढाको मृत्यु भएको हो । 


Image

प्रेम रौले

रौले कान्तिपुर टेलिभिजनका बाजुरा संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement