जनैपूर्णिमामा गोसाईँकुण्ड स्नान

भाद्र १४, २०८० |बलराम घिमिरे
जनैपूर्णिमामा गोसाईँकुण्ड स्नान

रसुवा । रसुवाको प्रसिद्ध धार्मिक तीर्थस्थल गोसाईँकुण्ड पुगेर बिहीबार बिहान हजारौं भक्तजनले स्नान गरेका छन् ।

साउन शुक्ल पूर्णिमा अर्थात (जनैपूर्णिमा) का दिन बिहानैदेखि कुण्डमा स्नान गर्ने भक्तजनको भिड लागेको छ । शुक्ल पूर्णिमा अर्थात् (जनैपूर्णिमा) का दिनमा गोसाईँकुण्डमा भने विशेष मेला लाग्ने गर्छ । तर नागपञ्चमीको दिनदेखि साउन शुक्ल पूर्णिमा अर्थात (जनैपूर्णिमा) सम्म गोसाईँकुण्ड स्नान गर्न भक्तजन आउने गर्छन् । पौराणिक कथनअनुसार परापूर्वकालमा देवता र दानवबीच लडाइँ हुँदा समुद्र मन्थनबाट उत्पन्न कालकूट विष सेवन गरी विषको डाह शान्त पार्न हिमालय खण्डको काखमा आई गोसाईँबाबा (भगवान शिवशंकर) ले आफ्नो हातमा भएको त्रिशूलले भित्तामा हिर्काउँदा भित्ताबाट गंगाजल अर्थात् त्रिशूल धाराको उत्पति भई उक्त धाराको पानीबाट गोसाईँकुण्डको उत्पत्ति भएको भन्ने किंवदन्ती छ ।

कुण्डमा स्नान गरी गोसाईँबाबा भगवान् शिवको दर्शन गर्नाले जीवनभर गरेको पापबाट मुक्ति पाउने, पितृ तर्नुको साथै आफूले चित्ताएको पूरा हुने जनविश्वासका साथ बर्सेनि हजारौं भक्तजन कुण्डमा स्नानका लागि आउने गर्छन् ।

गोसाईँकुण्ड समुद्र सतहदेखि चार हजार ३८० मिटरको उचाइँमा छ । जीवनमा एकपटक पुग्नैपर्ने धार्मिकस्थल हो गोसाईँकुण्ड । रसुवाको गोसाईँकुण्ड गाउँपालिका ५ मा रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल लाङटाङ राष्ट्रिय निकुञ्जभित्र पर्छ । कुण्डमा मेला भर्न स्थानीय तथा नुवाकोट, सिन्धुपाल्चोक, धादिङ, काभ्रे, गोरखा, चितवन, नवलपरासी, काठमाडौंलगायत देशैभरका हिन्दु तथा बौद्ध धर्मालम्वी आउने गर्छन् ।

यहाँ प्रत्येक वर्ष गंगादशहरा र जनैपूर्णिमामा मेला लाग्ने गर्छ । उच्च हिमाली क्षेत्रमा अवस्थित जैविक विविधताले भरिपूर्ण गोसाईँकुण्डलगायत वरपरका अन्य कुण्डहरुलाई २०६४ असोज ६ गते रामसार क्षेत्रमा सूचीकृत गरिएको छ । गोसाईँकुण्ड वरिपरि भैरवकुण्ड, आमाकुण्ड, सूर्यकुण्ड, सरस्वतीकुण्ड, रक्तकुण्ड, चन्द्रकुण्ड, दूधकुण्डलगायतका १०८ कुण्ड रहेको अनुमान छ । यस क्षेत्रमा १४ प्रजातिका लालीगुराँस, लोपोन्मुख वन्यजन्तु, विभिन्न प्रजातिका वनस्पति, चरा पाइन्छन् । कुण्डनजिकै अमरसिंह गुफा, अमरसिंहको चिहान छ । यात्राका क्रममा घट्टेखोला, देउराली, डिम्सा, चन्दनबारी, चोलाङपाटी, लौरीबिना, बुद्धडाँडा र गणेश गौंडाजस्ता ठाउँका मनोरम दृश्य अवलोकन गर्न सकिन्छ ।

फाइल तस्बिर


Image

बलराम घिमिरे

घिमिरे कान्तिपुर टीभीका रसुवा संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement