काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका ज्ञानेन्द्र मल्लले आज (शुक्रबार) अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका छन् । काठमाडौंमा आकस्मिक पत्रकारका सम्मेलन गर्दै ज्ञानेन्द्रले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषण गरेका हुन् ।
उनले संन्यास घोषणा गर्दै आफ्नो परिवार, क्यान, प्रशिक्षक र फ्यानलाई पनि धन्यवाद दिएका छन् । देशको प्रतिनिधित्व गरेकामा गर्व लागेको बताएका ज्ञानेन्द्रले मान प्रतिष्ठा पाएको खेलबाट बिदा लिन सजिलो नहुने बताएका छन् ।
सन् २००६ को एसीसी ट्रफी एलिटमा नामिबियाविरुद्ध डेब्यु गर्दै राष्ट्रिय क्रिकेट टिमको यात्रा सुरु गरेका मल्लले करिब १७ वर्ष नेपाली टिममा रमाए । नेपाली क्रिकेट टिमको लामो समय उपकप्तान बनेका ज्ञानेन्द्र २०७६ कात्तिक १३ गते कप्तानमा नियुक्त भएका थिए ।
आईसीसीको निलम्बनबाट नेपाल क्रिकेट संघ फुकुवा भएपछि तत्कालीन कप्तान पारस खड्काले राजीनामा दिएको कारण ज्ञानेन्द्रले कप्तानको जिम्मेवारी पाएका थिए । तर जसरी कप्तानीको जिम्मेवारी पाए त्यो भन्दा धेरै चर्चाका साथ उनको कप्तानी गुम्यो ।
खेलाडीको अनुशासन र क्रिकेट संघसँगको सम्झौता उल्लंघन गरेको भन्दै क्यानले चार खेलाडीलाई कारबाही गर्दा ज्ञानेन्द्रको कप्तानीसमेत खोसिएको थियो । दुई वर्ष नेपाली टिमको कप्तानीका जिम्मेवारी वहन गरेका ज्ञानेन्द्र २०७८ को मंसिर २९ गते कप्तानबाट पदमुक्त भएका थिए ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले पनि दुई वर्षअघि आजकै दिन संन्यास लिएका थिए ।
त्यसपछि पनि उनले अन्तर्राष्ट्रिय क्रिकेट जारी राखे । राष्ट्रिय टिमको ओपनरको भूमिकामा अक्सर देखिएका ज्ञानेद्रले केही समय विकेटकिपिङ र तेस्रो नम्बरमा ब्याटिङसमेत गरे ।
ज्ञानेन्द्रले अन्तर्राष्ट्रिय क्रिकेट करियरमा एकमात्र शतक प्रहार गरे । त्यो शतक नेपालमै भएको १३औं दक्षिण एसियाली खेलकुदमा थियो । त्यसबाहेक उनले संन्यास लिनु अघिसम्म ३७ एकदिवसीयमा ८७६ रन बनाएका थिए ।
एकदिवसीयमा उनले सात अर्धशतकसमेत प्रहार गरे । त्यसैगरी ४५ टी-ट्वान्टी आई खेलेका ज्ञानेन्द्रले ८८३ रन प्रहार गरेका थिए । टी-ट्वान्टी आईमा उनले एक शतक र दुई अर्धशतक बनाएका थिए ।
नेदरल्यान्ड्सविरुद्ध पहिलो एकदिसीय क्रिकेट खेल्दा नेपालका ११ जना नै खेलाडीले डेब्यु गरेका थिए । त्यही टिममा थिए ज्ञानेन्द्र । एकदिवसीय क्रिकेटको सुरुवाती दिनदेखि आईसीसी विश्वकप लिग २ मा नेपाललाई तेस्रो स्थान दिलाउँदासम्म मैदानका साक्षी उनी पनि हुन् । दबाबमा रहेका अवस्थामा रन बनाउन सक्ने खेलाडीको रुपमा पनि ज्ञानेन्द्रलाई चिनिन्छ ।
सन् २००५ मा अन्डर फिफ्टिनबाट डेब्यु गरेका ज्ञानेन्द्रले एसीसी अन्डर सेभेन्टिन्स र एसीसी अन्डर नाइन्टिन पनि खेलेका थिए । नेपाल डिभिजन फाइभबाट एक दिवसीय मान्यता प्राप्त देश बनाउनुमा ज्ञानेन्द्र र पारस खड्काको उल्लेखनीय योगदान थियो । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले पनि दुई वर्षअघि आजकै दिन संन्यास लिएका थिए ।