भानु जन्मस्थल संरक्षण योजना एक दशकदेखि अलपत्र

असार २९, २०८० |प्रताप राना
भानु जन्मस्थल संरक्षण योजना एक दशकदेखि अलपत्र

तनहुँ । आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको चुँदी रम्घाको विकास गर्ने उद्देश्यले भानु शिखर कटेरी गुरुयोजना बनेको झन्डै एक दशक भयो । तर, बजेट अभाव र विकास समितिमा चरम राजनीतिले भानु जन्मस्थल अलपत्रमा परेको छ ।

साहित्यक सम्पदाका रूपमा रहेका भानुको जन्मघर अहिले खण्डहर मात्र बनेको छैन । यहाँको अवस्था निकै टिठ लाग्दो छ । बजेट अभाव र भानु जन्मस्थल विकास समितिमा चरम राजनीतिले भानु जन्मस्थल अलपत्र अवस्थामा पुगेको हो ।

भानुभक्तको गाउँ जाने बाटो बिग्रिएको र घरहरू पनि अलपत्र रहेको स्थानीय विष्णुमाया घिमिरेको गुनासो छ । भानु जन्मस्थलमा चरम राजनीतिले आदिकविको जन्म स्थल विकास हुन नसकेको परिवारको गुनासो छ ।

‘यो पवित्र भूमि हो भन्ने सबैको सोचाइ छ । तैपनि यहाँ कुनै किसिमको विकास हुन सकेको छैन,’ भानुका पारिवारिक सदस्यसमेत रहेका महेन्द्र आचार्यको भनाइ छ ।

भानु जन्मस्थल संरक्षण र विकास गर्ने उद्देश्यले २०५२ सालमै आदिकवि भानुभक्त विकास समिति गठन गरिएको थियो । सम्पदा निर्माणका लागि पश्चिमाञ्चल विकास मञ्चले भानु शिखर कोटेरी गुरुयोजना निर्माण गरेको पनि एक दशकभन्दा बढी भइसक्यो । दुई करोड ६० लाखमा रामयाण भवन निर्माण सम्पन्न भएको छ । तर, अतिथि गृह, पालेघर, पोखरी, पुस्तकालयलगायत संरचना बनाउन कुनै सुरसार नै देखिन्न । भानु शिखर गुरुयोजना सम्पन्न हुन करिब २० करोड रुपैयाँ लाग्ने अनुमान छ ।

बजेट अभावले गुरुयोजना अघि बढ्न नसकेको भानु जन्मस्थल विकास समिति तनहुँका कार्यकारी निर्देशक शंकर रानाभाटको भनाइ छ ।

भानुको जन्मस्थलको विकास गर्न स्थानीय सरकारले समन्वय गर्ने भानु नगरपालिकाले जनाएको छ । ‘पश्चिमाञ्चल विकास मञ्चसँग यसबारे अहिलेसम्म भए गरेका प्रगति जन्मस्थल विकास समितिसँग बसेर, एउटा निर्णय लिएर त्यहाँको संवर्द्धन र संरक्षणका लागि अब नगरपालिकाले यो अभियानलाई अघि बढाउने तयारी गरेको छ,’ भानु नगरपालिका तनहुँका मेयर आनन्दराज त्रिपाठीले प्रतिबद्धता जनाए ।

सडकको ट्रयाक खुले पनि स्तरोन्नतिमा कसैको पनि ध्यान पुगेको छैन । योे सडकमा मोटरसाइकल आउजाउ गर्नसमेत मुस्किल पर्छ । राष्ट्रिय विभूति समेत रहेका आदिकवि भानुभक्तको २१० औं जन्मजयन्ती देश विदेशमा मनाउँदै गर्दा जन्मस्थल अलपत्रमा पर्नु र हरिबिजोग हुनु श्रष्टा र साहित्यजगतकै अवमूल्यन हो ।

सम्बन्धित समाचार...

आज २१०औँ भानु जयन्ती मनाइँदै


Image

प्रताप राना

राना कान्तिपुर टीभीका तनहुँ संवाददाता हुन् ।