एम पक्स संक्रमितको सुरू भएन ‘कन्ट्याक्ट ट्रेसिङ’

पुस ७, २०८१ |कान्तिपुर टीभी संवाददाता
एम पक्स संक्रमितको सुरू भएन ‘कन्ट्याक्ट ट्रेसिङ’

काठमाडौं । नेपालमा साउदी अरबबाट आएका एक जना पुरुषमा एम पक्स संक्रमण देखिए पनि बिरामीको सम्पर्कमा आएकाहरूको ‘कन्ट्याक्ट ट्रेसिङ’ अझै सुरू भएको छैन । एम पक्स संक्रमित ती व्यक्तिको अहिले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ ।

संक्रमित व्यक्ति विमानमा आउँदा जोखिम हुनसक्ने व्यक्ति र नेपाल आएपछि प्रयोग गरेका दुई वटा ट्याक्सीको कन्ट्याक्ट ट्रेसिङ गरिने इपिडिमियोगलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । तर महाशाखाले आइतबारबाट मात्र कन्ट्याक्ट ट्रेसिङ गर्ने बताएको छ ।

यस्तै, विमानस्थल र नाकाहरूमा शंकास्पद बिरामी देखिन सक्ने भन्दै सतर्कता अपनाउन समेत सम्बन्धित निकायलाई महाशाखाले आग्रह गरेको छ । अर्थोमिस्जो भाइरसबाट सर्न सक्ने एम पक्सले बालबालिका तथा रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरूमा बढी जोखिम हुने चिकित्सक बताउँछन् ।

ज्वरो आउने, अनुहार, हत्केला र पैतालामा डावर देखापर्ने, शरीरका ग्रन्थीहरू सुन्निने लगायत यो संक्रमणका लक्षण हुन् । यसको संक्रमण थुक, र्‍याल, घाउ खटिरा, शरीरबाट निस्कने तरल पदार्थ तथा संक्रमित व्यक्तिले प्रयोग गरेका सामग्रीबाट सर्ने जोखिम हुन्छ । सरकारले संक्रमणको जोखिमलाई ध्यान दिएर देशभर १४ जना छाला रोग विशेषज्ञलाई फोकल पर्सन तोकिएको छ । लक्षण देखापरेमा वा शंका लागेमा तुरुन्त अस्पताल जान समेत स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

यसअघि दुई वर्षअघि विदेशबाट आएकी एक विदेशी महिलामा एम पक्सको संक्रमण देखिएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement