रवि लामिछाने सहित पाँच जना विरुद्ध आज मुद्दा दर्ता गरिँदै

पुस ७, २०८१ |कान्तिपुर टीभी संवाददाता
रवि लामिछाने सहित पाँच जना विरुद्ध आज मुद्दा दर्ता गरिँदै

कास्की । पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको अभियोगमा रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने सहित पाँच जना विरुद्ध सरकारी वकिल कार्यालयले आज कास्की जिल्ला अदालतमा मुद्दा दर्ता गर्दै छ । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा रहेका रवि, पूर्वडीआईजी एवं गोर्खा मिडियाका सञ्चालक छविलाल जोशी, नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल, लीला पछाई र सूर्यदर्शन सहकारीका सञ्चालक कृष्ण गुरुङ विरुद्ध आज मुद्दा दर्ता हुन लागेको हो ।

यसअघि गत शुक्रबार १९ जना प्रतिवादीसँग थप बिगो माग दाबी सहित कास्की जिल्ला अदालतमा पूरक अभियोजन दर्ता गरिएको थियो । प्रतिवेदन अध्ययन गर्न समय लाग्ने भएपछि शुक्रबार रवि लगायत पाँच जनाको अभियोजन दर्ता भएको थिएन । रवि सहित पाँच जनालाई गत पुस २ गते अदालतले अन्तिमपटक थप ४ दिन हिरासतमा राख्न अनुमति दिएको थियो । जसको समयसीमा शुक्रबार नै सकिएको छ ।

सहकारीका संस्थापक अध्यक्ष जीबी राई सहित १९ प्रतिवादी विरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा विचाराधीन छ । सोही मुद्दामा जिल्ला सरकारी वकिल कार्यालय कास्कीले शुक्रबार नै उनीहरू विरुद्ध थप बिगो माग दाबी सहित पूरक अभियोग दर्ता गरेको हो । गत असोज १८ मा एक अर्ब ११ करोड १९ लाख ४३ हजार ४५ बिगो माग दाबी गर्दै मुद्दा दर्ता गरिएकोमा अहिले थपेर एक अर्ब ५१ करोड ४० लाख १९ हजार एक सय ९४ कायम गरिएको छ । १९ मध्ये १६ जनालाई सहकारी ठगीका साथै संगठित अपराध र बिगो सम्बन्धी मुद्दा थपिएको छ भने जीबी राईका हकमा सहकारीको दफा ६ बमोजिम बिगो थप, संगठित अपराध ऐनका दफा ६ सहित सम्पत्ति शुद्धीकरण र राष्ट्र बैंक ऐन अनुसारको दफा थप सहित पूरक अभियोग दर्ता भएको छ ।

रवि सहित पाँच जनालाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा चलाउनुपर्ने राय सहित प्रहरीले पुस १ गते अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयलाई बुझाइसकेको छ । सो प्रतिवेदन अनुसार ५१ जना प्रतिवादीबाट एक अर्ब ५१ करोड बिगो माग दाबी गर्नुपर्ने प्रहरीको राय छ । सूर्यदर्शन सहकारीका उपाध्यक्ष कैलाश दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल, पूर्वसञ्चालक शिवबहादुर गुरुङ, प्रमोद भट्टराई, अनुज नकर्मी, भविश्वर अर्याल लगायत पुर्पक्षका लागि थुनामै छन् ।

सुरूमा पक्राउ पुर्जी जारी भएका १९ जनामध्ये सहकारीका पूर्वअध्यक्ष जीबी राई, उनका दाइ भूपेन्द्र, अहिलेका अध्यक्ष तथा व्यवस्थापक समेत रहेका थानबहादुर बुढा, धीरजकुमार दास, हेमन्त अधिकारी, प्रमोद भट्टराई, सुरज श्रेष्ठ, आइस्मा गुरुङ, कविता तामाङ, सागर केसी, दिनेश रोका, ललिता तामाङ फरार छन् । सृष्टि मानन्धर, ऋण अधिकृत बुद्धि गुरुङ पनि फरार छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement