विश्व शान्तिका लागि योग र ध्यानलाई जीवन पद्धतिका रुपमा अपनाउनुपर्छ : प्रधानमन्त्री ओली

पुस ६, २०८१ |कान्तिपुर टीभी संवाददाता
विश्व शान्तिका लागि योग र ध्यानलाई जीवन पद्धतिका रुपमा अपनाउनुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली युद्ध र अशान्तिबाट त्रसित विश्वलाई शान्तिमय बनाउन योग र ध्यानलाई जीवन पद्धतिका रुपमा अपनाउनुपर्ने बताउनुभएको छ ।

विश्व ध्यान दिवसका अवसरमा आज सैनिक मञ्च–टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हतियारको बदला हतियारकै प्रयोगबाट विश्वमा शान्ति कायम नहुने भएकाले सकारात्मक चिन्तनका साथ ध्यान र योगलाई अपनाउन आग्रह गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीले सभ्य संस्कृति र सकारात्मक चिन्तनका साथ शारिरीक र मानसिक ध्यानलाई नियमितरुपमा गर्नुपर्ने र यस प्रकारको ज्ञानलाई विद्यालय र नयाँ पुस्तासम्म हस्तान्तरण गर्नुपर्ने बताउनुभयो । ध्यान प्राकृतिक ढंगले सचेत मानव जातिले प्रयोग गरेको र सभ्यताको मुहान भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले मुलुकलाई निरोगी नेपाल बनाउने सरकारको सङ्कल्प पूरा गर्न पनि ध्यान र योगलाई नियमितता दिन आवश्यक भएको बताउनुभयो ।

'नियमित सही आहार बिहार गरेर हामीले आरोग्य जीवन बिताउनुपर्छ । सकभर बिरामी परेर उपचारका लागि अस्पताल जानु नपरोस् भन्ने सोच राख्नुपर्छ । स्वस्थ्य र शान्तिमय विश्व निर्माणमा हामी सबै लाग्नुपर्नेछ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “सरकारका तर्फबाट ध्यान र योगका लागि गर्नुपर्ने काममा मेरो ध्यान पुगेको छ । स्वार्थीपन त्यागेर एकाग्रतामा ध्यान गर्नु हरेक समस्याको समाधानको उपाय पनि हो ।”

कार्यक्रममा स्वामी आनन्द अरुण, सन्तोष केडिया र एलपी भानु शर्माले ध्यानका विभिन्न अभ्यास गराउनुभएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement