काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले विकासको मोडालिटीका विषयमा गम्भीर समीक्षा गर्नुपर्ने बताएका छन् ।
प्रतिनिधिसभामा प्रत्यक्ष प्रश्नोत्तरका क्रममा प्रधानमन्त्री दाहालले भौतिक संरचनाको भौगर्भिक अध्ययन गरेर विकासको मोडालिटी तयार पार्नुपर्ने बताएका हुन् । वस्तिबारे रणनीतिक रूपमा नसोच्ने हो भने प्राकृतिक विपत्तिको पुनरावृत्ति भइरहने जोखिम रहेको प्रधानमन्त्री दाहालको भनाइ छ ।
प्रधानमन्त्री दाहालले कर्णाली र मधेस प्रदेशलाई विशेष प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको पनि स्पष्ट पारेका छन् । सांसदहरू प्रश्नको जवाफ दिँदै दाहालले स्रोत साधनको न्यायपूर्ण विनियोजन गरिएको पनि उल्लेख गरे ।
दाहालले पूर्व–पश्चिम राजमार्ग, पथलैया–वीरगञ्ज कोरिडोर, हुलाकी राजमार्ग, बागमती–कमला–चन्द्र नहरलगायत ठूला विकास आयोजनामा काम भइरहेको बताए । यस्तै ३ लाख ५१ हजार मेट्रिक टन रासायनिक मल आयात भइसकेको भन्दै उनले यस वर्ष अभाव नहुने पनि दाबी गरे ।
प्रधानमन्त्री दाहालले अन्तर्राष्ट्रिय सीमा सुरक्षालाई थप सबल बनाइने पनि बताए । बोर्डर आउट पोस्टको सुदृढीकरण तथा सीमा स्तम्भको नियमित मर्मत सरकारको प्राथमिकतामा रहेको उनको भनाइ छ ।
यसैबीच एमाले सांसद महेश बर्तौलाले उपराष्ट्रपति कार्यालयको खर्च शीर्षक पुस्तिका उपलब्ध नगराएसम्म संसद् चल्न नसक्ने बताएपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए ।
सम्बन्धित समाचार...
मधेस प्रदेशमा बजेट विनियोजन कम गरिएको छैन : प्रधानमन्त्री
मुलुकको विकासको मोडालिटी भौगोलिक अवस्थितिको अध्ययन गरेर मात्रै हुन जरुरी छ : प्रधानमन्त्री दाहाल