निर्माण सम्पन्न भएको ६ महिनापछि पोखरा विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय जहाज अवतरण

असार ६, २०८० |इन्द्र पौडेल|ऋषिकान्त पौडेल
निर्माण सम्पन्न भएको ६ महिनापछि पोखरा विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय जहाज अवतरण

पोखरा । गत पुस १७ गते उद्घाटन भएसँगै आन्तरिकतर्फको उडान सुरु भएको पोखरा विमानस्थलमा आज पहिलोपटक अन्तर्राष्ट्रिय विमान अवतरण गरेको छ । पोखरालाई विदेशी शहरसँग जोड्ने लक्ष्य हाासिल भए पनि नियमित उडानको भने अझै टुंगो लागेको छैन । नियमित व्यावसायिक उडान हुन नसके विमानस्थल बनाउँदा लिएको ऋणको साँवा व्याज भुक्तानी गर्नै समस्या हुने देखिन्छ ।

बुधबार चीनको छेन्दु शहरबाट बिहान आएको सिचुवान एयरको जहाजले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्यो । यो नै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको पहिलो अन्तर्राष्ट्रिय उडान हो । नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका र चिनियाँ दूतावासको सहकार्यमा आयोजित ड्रायागन बोट फेस्टिभलका सहभागीहरुले चार्टड गरी पोखरालाई छेन्दु शहरसँग जोडेका हुन । विमानमार्फत चीन भ्रमणमा रहेका राष्ट्रियसभाका अध्यक्ष गणेसप्रसाद तिमिल्सिनासहित १ सय ३५ जना यात्रु पहिलो पटक पोखरा अवतरण गरेका छन् ।

नियमित उडानको ६ महिनासम्म पनि अन्तराष्ट्रिय उडान सुरु हुन नसक्दा पोखराको विमानस्थलको आवश्यकता र औचित्यमाथि प्रश्न उठ्दै आएको छ । चीनले बेल्ट एन्ड रोड अर्थात् बीआरआई अन्तर्गत बताएको र चीन सरकारको प्रविधिमा बनेको भन्दै भारतले उडान अनुमति दिन आनाकानी गरिरहेको छ । दक्षिणको छिमेकी देश भारतबाट हवाई रुट लिने प्रयासमा गतिरोध आइरहँदा चीनबाट सुरु पहिलो चार्टड उडानलाई अर्थपूर्ण मानिएको छ । यसलाई पर्यटन क्षेत्र र समग्र पोखराको विकासमा कोसेढुङ्गाका रुपमा लिन सकिन्छ ।

पोखरा नेपालकै पर्यटकीय केन्द्र हो । यहाँ आउने पर्यटक मध्ये चीन र भारतका नै बढी छन् । अन्तर्राष्ट्रियस्तरको विमानस्थल निर्माण भएर पनि सोही अनुरुपका उडान हुन नसक्दा लक्ष्य अनुसारको पर्यटक संङख्या वृद्धि हुन सकेको छैन । तर पनि पहिलोपटकको अन्तर्राष्ट्रिय हवाई उडान सम्बन्धले पर्यटन व्यवसायीमा उत्साह थपेको छ ।

पोखरा विमानस्थल निर्माणका लागि सरकारले चीनको एक्जिम बैङ्कसँग २ प्रतिशत ब्याज बुझाउने गरी २१ अर्ब ४० करोड रुपैयाँ ऋण लिएको छ । यो ब्याज प्रतिशत अन्तर्राष्ट्रिय ऋण लगानीमा महँगो मानिन्छ । अन्तर्राष्ट्रिय उडान भएपनि नभएपनि सन् २०२४ देखि १३ वर्षमा यो ऋण तिरिसक्नु पर्नेछ । त्यसको लागि पनि नेपाल सरकार र सरोकारवालाले पोखरा विमानस्थलको खर्च धान्नका लागि नियमित अन्तर्राष्ट्रिय उडान गर्नै पर्नेछ ।

उत्तरी छिमेकी मुलुकबाट अन्तर्राष्ट्रिय चार्टड उडान केही सकारात्मक संकेत हो । यसलाई नियमित उडानको आधार बनाउँदै तत्काल दक्षिणको छिमेकी भारतबाट पनि उडान अनुमति पाउने विषयलाई निष्कर्षमा पुर्‍याउनुको विकल्प छैन् ।

ईन्द्र पौडेलका साथ ऋषिकान्त पौडेल 


Image

इन्द्र पौडेल

पोखरामा कार्यरत पौडेल कान्तिपुर टेलिभिजनका क्यामेरा पर्सन हुन् ।

Image

ऋषिकान्त पौडेल

पौडेल कान्तिपुर टीभीका कास्की संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement