बाढीमा परी ताप्लेजुङ र पाँचथरमा १० जना बेपत्ता, हेवा खोलाको पुल बगाउँदा मेची राजमार्ग अवरुद्ध

असार ३, २०८० |आनन्द गौतम|लक्ष्मी गौतम
बाढीमा परी ताप्लेजुङ र पाँचथरमा १० जना बेपत्ता, हेवा खोलाको पुल बगाउँदा मेची राजमार्ग अवरुद्ध

ताप्लेजुङ/पाँचथर । अविरल वर्षासँगै आएको बाढीले ताप्लेजुङ र पाँचथर जिल्लामा ठूलो जनधनको क्षति भएको छ । बाढीले बगाँउदा हालसम्म दुई जिल्लामा गरी १० जना बेपत्ता भएका छन् भने ठाउँ-ठाउँका पुल बगेका छन् ।

पाँचथरको हेवा खोलामा आएको बाढीमा परेर हिलिहाङ - ७ का दिलकुमार तामाङ र फिदिम - १० का सन्जोग लोवासहित ६ जना बेपत्ता भएका छन् । बाढीले फिदिम - ४ हेवा खोलामा गिटी कुटेर गुजारा चलाँउदै आएका एक, फालेलुङ - ३ मा एक र फिदिम - ४ माझीटारमा २ गरी ६ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख (डीएसपी) हरि खतिवडाले बताए ।

बाढीले मेची राजमार्गअन्तर्गत पाँचथर र ताप्लेजुङ जाने बाटोमा पर्ने हेवा खोला पुल बगाएको छ । पुल बगाएसँगै मेची राजमार्गसमेत पूर्णरूपमा अवरुद्ध भएको छ ।

यस्तै फालेलुङ गाउँपालिकाको लुमाङदिन र घुमाउनेमा दुईवटा मोटरेवल र एउटा झोलुङ्गे पुल बगाएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएको छ । यस्तै याङवरक गाउँपालिका - ३ र २ मा केही घर बगाएको भएपनि क्षतिको विवरण यकिन हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

ताप्लेजुङमा एकै परिवारका तीनसहित चार बेपत्ता

ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित मेहेलेमा पहिरोले घर बगाउँदा एकै परिवारका तीन जना बेपत्ता छन् । स्थानीय कमल कडरियाका अनुसार पहिरोले यादव बुढाथोकीको घर बगाउँदा यादवकी श्रीमती भगीमाया, बुहारी सन्ध्या र नाति प्रज्वल बेपत्ता भएका हुन् । यस्तै मेहेलेकै भरत तामाङसमेत बेपत्ता भएका छन् । खोला छेउमा घर भएका तामाङले ठूलो वर्षा भएपछि बुवाआमालाई सुरक्षित क्षेत्रमा सारेर फर्किने क्रममा बेपत्ता भएको बताइएको छ ।

घटना क्षेत्रमा साब्लाखु प्रहरी चौकीबाट प्रहरीको टोली गइरहेको सिदिङ्वा गाउँपालिका उपप्रमुख बन्दना कडरियाले जानकारी दिए । मेहेलेका राजकुमार गौतमको एउटा घर बगेको छ भने अर्को घर जोखिममा छ । यस्तै देउकुमार लिङ्देन र गुमान राईको घर जोखिममा परेको छ भने मेहेले स्वास्थ्यचौकीको भवन पूर्णरूपमा पहिरोले बगाएको छ ।

अहिले पनि निरन्तर वर्षा भइरहेकाले सिरीजङ्घा र सिदिङ्वा गाउँपालिकाका अधिकांश नागरिक त्रसित छन् । बाढी र पहिरोले जिल्लाका धेरैजसो सडक सञ्जाल पूर्णरूपमा अवरुद्ध छन् भने याम्फुदिन, खेवाङ, मेहेले, सुरुम्खिम, आङ्खोपसहितका ठाउँमा विद्युतसमेत ठप्प छ । मेची राजमार्ग र तमोर करिडोर क्षेत्रका विभिन्न क्षेत्रमा बाढी पहिरो आएपछि तराई जोड्ने सडक पनि अवरुद्ध बनेका छन् । थप क्षतिसहित यकिन विवरण आउन बाँकी छ ।

तीन घर बगायो, दोभान बजार जोखिममा

बाढीले ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित आङ्खोपमा तीन घर बगाएको छ । गएराति इङ्वाखोलामा आएको बाढीले प्रेम सेलिङ, महेश्वर सेलिङ र गणेश सेलिङको घर बगाएको स्थानीय शिक्षक चैतन्य बुढाथोकीले जानकारी दिए ।

उनका अनुसार सोही क्षेत्रका डिल्ली सेलिङ, रामबहादुर सेलिङ र मीन बुढाथोकीको घर जोखिममा छन् । वर्षासँगै आएको बाढी बस्तीतर्फ पसेपछि घर छाडेर सुरक्षित क्षेत्रमा सरेकाले मानवीय क्षति भएको छैन । बाढीले इङ्वाखोला जलविद्युत् आयोजनामा समेत क्षति पुगेको छ । खोला किनारको खेतीयोग्य जमिनसमेत बगाएको छ भने केही पशुचौपायासमेत बगाएको जनाइएको छ ।

यसैगरी मैवाखोलामा आएको बाढीले दोभानबजार जोखिममा परेको छ । बाढीले बजार क्षेत्र कटान गरेपछि दुई घर उच्च जोखिममा रहेको स्थानीय प्रदीप पोखरेलले जनाए । उनका अनुसार दीपक धिताल र सुकबहादुर लिम्बूको घर उच्च जोखिममा छन् । बाढी सामान्यतया घटे पनि पानीको बहाव घटेको छैन । मध्यरातमा बाढी आएपछि बजारका आधाजसो घरपरिवार अन्तै सरेका छन् । बाढीले मेरिङ्देन गाउँपालिकातर्फ जाने खोला किनारको सडकसमेत बगाएपछि बाटो पूर्णरूपमा अवरुद्ध बनेको छ ।


Image

आनन्द गौतम

गौतम कान्तिपुर टेलिभिजनका ताप्लेजुङ संवाददाता हुन् ।

Image

लक्ष्मी गौतम

गौतम कान्तिपुर टेलिभिजनका पाँचथरका संवाददाता हुन् ।