काठमाडौं । चर्को घाम, सवारीसाधनको धुँवा र सडकको धुलो । यी तीन कुराबाट आँखालाई जोगाउन चस्मा नभई हुन्न । यसबाहेक युवादेखि पाको उमेर समूहसम्मका मानिसमा आजकाल फेसनकै रुपमा चस्माको मोह बढ्दो छ । तर, कस्तो चस्मा लगाउने र कसरी लगाउने भनेर चाहिँ कमैले ध्यान दिने गरेका छन् ।
गर्मी याममा चस्माको प्रयोग फेसनेबल त देखिन्छ नै, आँखाको रक्षाका लागि पनि उपयोगी मानिन्छ । धुँवा, धुलो र चर्को घामको सोझो प्रभावबाट आँखालाई सुरक्षित राख्न दिनहुँ चस्माको प्रयोग गर्नेको संख्या धेरै छ ।
गर्मीयाममा सूर्यको परावैजनी किरणलाई सोस्न सक्ने खालको चस्मा लगाउन चिकित्सकहरु सुझाउँछन् । पूरै आँखा छोप्ने खालको चस्मा उत्तम मानिने आँखारोग विशेषज्ञ टिना श्रेष्ठको सुझाव छ ।
चस्मामा रुचि हुनेले स्वास्थ्यलाई समेत प्राथमिकतामा राख्दै गुणस्तरयुक्त चस्मा छनोट गनुपर्छ । नेपालमा भारत, चीन, अमेरिका, अस्ट्रेलियालगायत २० मुलुकबाट चस्मा आयात हुने गर्छ । यो आर्थिक वर्षको वैशाखसम्म २४ करोड २६ लाख १९ हजार रुपैयाँबराबरका १९ लाख २४ हजार ९ सय २४ वटा चस्मा नेपाल भित्रिएका छन् ।