खानेपानी अभावका कारण बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका विद्यार्थीलाई एक साता बिदा

जेष्ठ २४, २०८० |कान्तिपुर टीभी संवाददाता
खानेपानी अभावका कारण बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका विद्यार्थीलाई एक साता बिदा

धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा खानेपानी समस्या चुलिँदै गएपछि विद्यार्थीलाई एक साताको बिदा दिइएको छ ।

प्रतिष्ठानको अस्पताल, आवास र होस्टल क्षेत्रमा पर्याप्त खानेपानी आपूर्ति हुन नसकेको र साथै विद्यार्थीले पनि लिखितरुपमा नै अनुरोध गरेकोले एक साताका लागि पठनपाठन बन्द गर्ने निर्णय गरिएको एसिस्टेन्ट डिन भम्मी सिंहले जानकारी दिइन् ।

प्रतिष्ठानका निमित्त उपकुलपति प्राध्यापक सञ्जीव शर्माले पानी अभावमा अस्पतालको सेवा प्रभावित हुन नदिन होस्टेलमा रहेका १५ सय विद्यार्थीलाई एक साता लामो बिदा दिनुपरेको बताए । प्रतिष्ठानका अनुसार अस्पताल सञ्चालनमा मात्रै दैनिक १५ लाख लिटर पानी चाहिन्छ । तर, आपूर्ति भने ५ लाख लिटर जति मात्र छ । ट्यांकरबाट किनेर अस्पतालको सेवा सन्चालन गर्नु परिरहेको प्रतिष्ठानले जनाएको छ ।

यता, धरान उपमहानगरका नगरप्रमुख हर्क साम्पाङले भने प्रतिष्ठानलाई पर्याप्त पानी दिएको दाबी गरेका छन् । दैनिक १५ लाख लिटरको सम्झौता भए पनि २१ लाख लिटर दिँदासमेत पानी अभाव भन्दै उनले धरान उपमहानगरकै बेइज्जत गर्ने प्रयास भएको दाबी गरे ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.