नक्कली भुटानी शरणार्थी मुद्दामा प्रतिवादीका तर्फबाट बहस सुरु

जेष्ठ २४, २०८० |कान्तिपुर टीभी संवाददाता
नक्कली भुटानी शरणार्थी मुद्दामा प्रतिवादीका तर्फबाट बहस सुरु

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतिवादी पक्षका तर्फबाट काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस सुरु भएको छ । हिजो सरकारी वकिलको बहस सकिएसँगै आजदेखि प्रतिवादीतर्फका कानुन व्यवसायीले बहस थालेका हुन् ।

यसअघि नै निर्धारण भएको बहसको समयअनुसार सरकारी वकिलले तीन दिनमा बहस सकेपछि प्रतिवादीका तर्फका कानुन व्यवसायीले बहस सुरु गरेका हुन् । प्रतिवादी केशव दुलाल, सानु भण्डारी र टंक गुरुङका कानुन व्यवसायीले आज बहस गर्दै अभियुक्तहरुलाई थुनामा राख्नुपर्ने कुनै कारण नभएको जिकीर गरे ।

बहसका क्रममा प्रतिवादी सानु भण्डारी र सन्दीप रायमाझीबीच साझेदारीमा सञ्चालित कम्पनीको सेयर फिर्ता गर्दाको रकम भएको जिकिर कानुन व्यवसायीले गरेका छन् । यस्तै टंक गुरुङले चलाएको रेष्टुरेण्टमा खान जानेहरुकै संगोलमा राखेर अभियोग लगाइएको जिकिर कानुन व्यवसायीको छ । यस्तै करिब २८ करोड ठगी भएको आरोप लगाइए पनि ठगीको रकम वादी पक्षले देखाउन नसकेको कानुन व्यवसायीले तर्क गरेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुलाई थुनामा पठाउन के के आधार प्रस्तुत गरे सरकारी वकिलले ?

उनीहरुले सरकारी वकिलको कार्यालयले विनाआधार २७ करोड ५० लाख बिगो माग दाबी गरेको आरोप लगाए । प्रतिवादीतर्फका कानुन व्यवसायीले बहसका लागि ६ दिनको समय पाएका छन् ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा आइतबारदेखि जारी थुनछेक बहस सकिएपछि अभियुक्तलाई थुनामा राखेर मुद्दा चलाउने वा धरौटीमा रिहा गर्ने भन्ने आदेश आउने छ । यो प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारीलगायत ३० जनालाई अभियुक्त बनाएर अभियोगपत्र दायर गरिएको छ । ती मध्ये १८ जना पक्राउ परेर हिरासतमा छन् भने अझै १२ जना फरार छन् । जिल्ला सरकारी वकिलको कार्यालयले पक्राउ परेका तथा फरार रहेकासहित ३० जनालाई संगठित अपराध, ठगी तथा राज्यविरुद्धको अरोप गरी चार मुद्दा लगाउँदै २७ करोड ५० लाख बिगो मागदाबीसहित काठमाडौं जिल्ला अदालतमा जेठ १० गते मुद्दा दायर गरेको थियो ।

यो पनि...

नक्कली भुटानी शरणार्थी प्रकरण कुनै भेटघाटले प्रभावित नहोस् : गगन थापा


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.