राउटे समुदायका ज्येष्ठ सदस्य कर्णबहादुर शाहीको निधन, यस्तो छ अन्त्येष्टि संस्कार

जेष्ठ २४, २०८० |चक्र भण्डारी
राउटे समुदायका ज्येष्ठ सदस्य कर्णबहादुर शाहीको निधन, यस्तो छ अन्त्येष्टि संस्कार

दैलेख । जंगलमा फिरन्ते जीवन बिताउने लोपोन्मुख जाति राउटे समुदायका ज्येष्ठ सदस्य ९४ वर्षीय कर्णबहादुर शाहीको निधन भएको छ । उनको बुधबार बिहान निधन भएको हो ।

दैलेखको भैरवी गाउँपालिका वडा नं. १ दारेघाटको जंगलमा बस्दै आएका राउटे दुई हप्ता अघि मात्र नावीस्थानको जंगलबाट बसाइँ सरेर यहाँ आएका थिए ।

सधैँ एकै स्थानमा बस्न मन नपराउने र २–३ महिनामा आफ्नो बस्ती सर्दै हिँड्ने नेपालको एक मात्र फिरन्ते जाति राउटे समुदायले मान्दै आएको हिन्दू धर्म संस्कार अन्तर्गत मृतक शाहीलाई आजै जमिनमा गाडिएको छ ।

मृतकलाई खाडलमा सदगद गर्ने क्रममा बाँदर मार्ने जालमा गुथेर खाल्डोमा गद्धा राखी हरेक घरबाट धान, चामल तथा नयाँ कपडा चढाएर अन्त्यष्टि गर्ने चलन छ । मूल किरिया कोही बस्न नपर्ने चलन रहेको यस समुदायमा ३० दिनसम्म परिवारका पुरुष मुख्य सदस्यले शरीरका कुनै रौँ काट्दैनन् । बस्तीमा राउटे समुदायका सदस्यको निधन भएमा ११ देखि १३ दिनबीचको मंगलबार वा शनिबार पारेर सबैले कपडा धुने अनि मृतकको नाममा कुखुरा काट्ने चलन छ ।

राउटे समुदायका सदस्यको मृत्यु भएपछि बसिरहेको बस्ती एक साताभित्र छोड्ने र नयाँ ठाउँमा गएर सबैले कपडा धुने तथा मृतकको नाममा कुखुरा काटेर मासु खाई शुद्ध हुने वा किरिया सक्काउने प्रचलन छ । जनसंख्या घट्दै गएको लोपोन्मुख राउटे जातिको जनसंख्या ४२ परिवारका एक सय ४१ जना मात्रै बाँकी छन् ।

लामो समयदेखि दैलेख आसपासको क्षेत्रमा फिरन्ते जीवन बिताइरहेका राउटे समुदायले नागरिकता लिएका छैनन् । खेतीकिसानी, पठाइलेखाई नगर्ने र नागरिकता लिन राउटेले मिल्दैन भनेर उनीहरुले अस्वीकार गर्दै आएका छन् ।

२०६३ देखि राउटे समुदायका सबै जनाले सामाजिक सुरक्षा भत्ता पाउन थालेपछि सहजताका लागि गुराँस गाउँपालिका दैलेखले उनीहरुको बस्ती सरेकै ठाउँमा पुगेर सामाजिक सुरक्षा भत्ता दिने गरेको छ ।

राउटे समुदायको स्वास्थ्य सरसफाइ, खानपिन र सामाजिक जीवन सहजीकरण गर्न राउटे समुदाय बस्ती सरेसँगसँगै हिँड्ने गरी सोसेक नेपालले राउटे परियोजनामा ४ जना बस्तीमै कर्मचारी खटाएर कार्यक्रम सञ्चालन गरेको छ । परियोजनापछि बालबालिकाहरुले अंक र अक्षर लेख्ने स्वेच्छिक अभ्यास गर्ने गरेका, कुनै घाउ अथवा चोटपटक वा बिसञ्चो हुँदा औषधि उपचार गराउने लगायतका सामाजिक जीवनको अभ्यास गरिरहेका छन् ।


Image

चक्र भण्डारी

भण्डारी कान्तिपुर टेलिभिजनका दैलेख संवाददाता हुन् ।