हज यात्रीले साउदी अरबको मक्का जाने क्रममा पाए सास्ती

जेष्ठ १९, २०८० |जितेन्द्र झा
हज यात्रीले साउदी अरबको मक्का जाने क्रममा पाए सास्ती

काठमाडौं । हज यात्राका लागि साउदी अरबको मक्का जाने क्रममा विभिन्न जिल्लाबाट काठमाडौं आइपुगेका यात्रुहरुले फितलो व्यवस्थापनका कारण दु:ख पाएको बताएका छन् । उनीहरुले खान, बस्न, सुत्न मात्र होइन पिउने पानीको समेत व्यवस्था नभएको गुनासो गरेका छन् । आज मात्रै दुई सय पचास जना हज यात्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साउदी अरबतर्फ प्रस्थान गरेका छन् ।

हजका लागि काठमाडौं आएका यात्री र तिनका आफन्तले आवश्यक जानकारी नपाएर आक्रोसित भएपछि हज समितिका एक सदस्यमाथि झन्डै हातपात हुने स्थिति आएको थियो ।

गृह मन्त्रालयले हज यात्रीका लागि एक करोड रुपैयाँ छुट्याए पनि व्यवस्थापनमा त्यो खर्च नभएको हाजीहरुको गुनासो छ ।

सत्तारुढ दलबीच भागबन्डा मिलाएर २५ सदस्यीय हज समिति गठन गरिन्छ । धेरै हजयात्री जाने जिल्लाका व्यक्ति हज समितिको नेतृत्वमा नराखिएको, हज यात्रीले नेपाली भाषामा गृह मन्त्रालयलगायत कर्मचारीसँग कुराकानी गर्न गाह्रो भएको गुनासो गरेका छन् ।

समितिका अध्यक्ष शमशेर मियाँ नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरी हिरासतमा छन् । अध्यक्ष नै कार्यकारी रहने हुनाले मियाँ गिरफ्तार भएपछि समितिका काम लथालिंग भएको हो ।

समयमै पासपोर्ट र टिकट हातमा नपरेको, महँगो शुल्क बुझाउँदा पनि त्यो पैसा के-कसरी खर्च हुन्छ भनेर थाहा नदिएको उनीहरुको गुनासो थियो । बर्सेनि हुने हज यात्रालाई गृह मन्त्रालयअन्तर्गतको हज समितिले व्यवस्थापन गर्छ । समितिले भने राजनीतिक पूर्वाग्रहका आधारमा आरोप लगाइएको भन्दै आफ्नो बचाउ गरेको छ ।

हवाई टिकट, साउदी अरबमा खान र बस्न लाग्ने खर्च यातायात, भिसालगायतमा भएका खर्चको विवरण सार्वजनिक गर्न हाजीहरुको माग छ । ४५ दिने तीर्थयात्राका लागि नेपालबाट झन्डै १२ सय मुस्लिम धर्मावलम्बी साउदी अरब जाँदै छन् । उनीहरुले जनही ४ लाख ६५ हजार रुपैयाँ नेपाल सरकारलाई बुझाएका छन् । ३ लाख ६४ हजार रुपैयाँ खान, बस्न र १ लाख टिकटमा खर्च हुने हज समितिले जनाएको छ । 


Image

जितेन्द्र झा

झा कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।