मेलम्ची बाढीले पुर्‍याएको क्षतिको पुनर्निर्माण अझै भएन

जेष्ठ १३, २०८० |कमला पाख्रिन
मेलम्ची बाढीले पुर्‍याएको क्षतिको पुनर्निर्माण अझै भएन

सिन्धुपाल्चोक । राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजना बाढीले क्षति पुर्‍याएको दुई वर्ष बित्दा पनि पुनर्निर्माणको काम अघि बढ्न नसक्दा अन्योल कायमै छ । बाढीले मेलम्चीको बाँधसहित भौतिक संरचना बगाएपछि निर्माणदेखि मर्मतसम्म करिब ६१ अर्ब खर्चेर काठमाडौंमा पानी ल्याए पनि पुरिएका भौतिक संरचनाको पुनर्निर्माणमा सम्बन्धित निकायको चासो नदिँदा अन्योल बढेको छ ।

दुई वर्षअघिको गेग्रानसहितको बाढीले क्षति पुगेको मेलम्ची खानेपानी आयोजनास्थलको विन्दु, बाँध, अडिट सुरुङ, हेडवर्क्स, प्रवेश मार्ग, पुल र अन्य संरचना पुनर्निर्माणको काम अघि बढ्न सकेको छैन । आयोजनाको बाँधस्थलसम्म अस्थायी बाटो बनाएर सुरुङ गेटको सामान्य मर्मत गरेर काठमाडौंमा खानेपानी वितरण गरे पनि बाढीको चेपटामा परेका भौतिक संरचनाको कुनै काम सुरु हुन सकेको छैन ।

स्थायी संरचनाका लागि सरकारले यसै वर्ष बजेट विनियोजन गरेर काम चाँडोभन्दा चाँडो सक्नुपर्ने हेलम्बु गाउँपालिका ग्यालथुमका भरत कार्कीको सुझाव छ ।

सुरुङ मर्मतगरी बर्खामा काठमाडौंमा पानी पठाउने योजना बनाए पनि यो मात्रै पर्याप्त देखिँदैन । अस्थायी संरचनाबाटै पानी पठाइरहँदा अहिलेसम्म स्थायी संरचना मर्मत गर्न सरकारी तयारी नै छैन । संरचना निर्माणबिनै याङ्ग्री र लार्के खोलाको पानी पनि मेलम्चीमा झारेर राजधानीवासीको दैनिक ५१ करोड लिटर पानी को खाँचो पूरा होला त ?

‘बाढीका कारणले, संरचना क्षति भएका कारणले अझै पनि डर लाग्ने स्थिति छ,’ तर पनि यो सबै कुराहरुलाई बाट सिकेर काठमाडौंमा यहाँको शुद्ध पानी खुवाउन हामी लाग्नै पर्ने हुन्छ,’ सिन्धुपाल्चोकका एमाले नेता शेरबहादुर तामाङले कान्तिपुर टेलिभिजनसँग भने ।

चाइना रेल्वे र सीएमसीपछि सिनो हाइड्रोले अहिले मेलम्ची मर्मतको काम गरिरहेको छ । तीन ठेकेदार कम्पनीबाट २७ हजार मिटर मुख्य सुरुङ निर्माण, १७ करोड लिटर क्षमताको सुन्दरीजल पानी प्रशोधन केन्द्र निर्माण भएको छ । बाढीले आयोजना स्थलको संरचना पुरिएपछि दुई वर्षमा ग्रेगान पन्छाउनुबाहेक कुनै प्रगति भएको छैन ।

‘मेलम्चीलाई कसरी पुनर्निर्माण गर्ने भन्ने सन्दर्भमा भएको मिटिङमा सडक विभागले पुनर्निर्माण गर्ने भन्ने कमिटमेन्ट थियो र यसलाई ८० करोडभन्दा बढी लागत लाग्न सक्छ भनेर स्रोत सुनिश्चितता लिएर अघि बढ्ने भन्ने कुरा थियो त्यो अहिले छायामा परेको अवस्था छ,’ मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले भने ।

बाढीले क्षति पुर्‍याएको आयोजनाको पुनर्निर्माणको काम कसरी अघि बढाउने भन्ने अन्योल चिर्न ढिलो भइसकेको छ । छिटोभन्दा छिटो सम्भावित अवरोधहरुलाई बेलैमा सल्टाउन सकिएन भने मेलम्चीको भविष्य अपूरो बन्ने देखिन्छ ।


Image

कमला पाख्रिन

पाख्रिन कान्तिपुर टीभीका लागि सिन्धुपाल्चोक संवाददाता हुन् ।