विराटनगरमा आजदेखि धर्ना, जुलस, भेला तथा प्रदर्शन गर्न निषेध

जेष्ठ १३, २०८० |कान्तिपुर टीभी संवाददाता
विराटनगरमा आजदेखि धर्ना, जुलस, भेला तथा प्रदर्शन गर्न निषेध

विराटनगर । मोरङ जिल्ला प्रशासनले मुख्यमन्त्री निवासलगायतको विराटनगर बजार क्षेत्रलाई निषेधित क्षेत्र तोकेको छ । आजदेखि अनिश्चितकालका लागि निषेधित क्षेत्र तोकिएको जिल्ला प्रसाशन कार्यालयले जनाएको छ ।

कोशी प्रदेश नामकरण पछि पहिचानवादी पक्षहरुले गर्दै आएको विरोधलाई मध्यनजर गरी शान्ति सुरक्षा कायम गर्न निषेधित क्षेत्र तोकिएको प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले जानकारी दिए ।

आज बिहान ६ बजेदेखि अर्को आदेश नभएसम्म निषेधित क्षेत्रमा सर्वसाधारण तथा सवारी साधन आवतजावत बाहेक कुनै पनि किसिमको सभा, जुलुस, भेला, र्‍याली, धर्ना जस्ता कार्यहरु गर्न स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) बमोजिम निषेध गरिएको स्थानीय प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ ।

कोशी प्रदेशसभा पूर्वमा देवकोटा चोकदेखि पश्चिम कोशी अस्पतालसम्म, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रोड शेष चोकदेखि दक्षिण जतुवा चोकसम्म, मुख्यमन्त्री निवास तथा प्रदेश प्रमुखको कार्यालय तथा निवास वरपरको ३०० मिटरसम्म र जिल्ला प्रशासन कार्यालय मोरङको डाँफे चोकदेखि पूर्वको क्षेत्रसम्म निषेधित क्षेत्र तोकिएको छ । आदेश उल्लंघन गरिए कानुन बमोजिम कारबाही गरिने चेतावनी दिइएको छ ।

कोशी प्रदेशको बजेट अधिवेशन यही जेठ १४ गतेदेखि सुरु हुँदैछ । आइतबारदेखि सुरु हुने बजेट अधिवेशन र सुरक्षालाई ध्यानमा राख्दै प्रशासनले निषेधित क्षेत्र तोकेको हो । प्रदेश सभाको गत फागुन १७ गतेको बैठकले कोशी प्रदेश नामकरण गरेको थियो । उक्त नामप्रति असहमति जनाउँदै पहिचानवादी विभिन्न पक्षले जुलुस प्रदर्शन गर्दै आएका छन् । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.